धनगढीले रच्यो इतिहास, पहिलो संस्करणको फाइनलमा

धनगढी- धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे।

काठमाडौंका तेज तामाङले एक गोल फर्काए। खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो। खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए।

त्यसअघि खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाएका थिए। मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो। फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे।

You can share this post!