जनशक्ति अभाव सँगै भएका भेन्टिलेटर पनि प्रयोगविहिन

काठमाडाै – कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै गर्दा जटिलता देखिने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ ।अस्पतालहरूमा सीमित सङ्ख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको भन्दै कतिपय अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताएका छन् ।

सरकार भने आइसियु र भेन्टिलेटर थप्ने योजनामा छ । देशभरी कोरोना संक्रमितहरुमा गम्भीर समस्या देखिन थालेपछि भेन्टिलेटर अभाव भएको गुनासो बढिरहेपनि जनशक्ति अभावमा कतिपय अस्पतालहरूमा भने भएका भेन्टिलेटर प्रयोगविहन बनेका हुन् । गतवर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेख अस्पतालमा आइसीयू र भेन्टिलेटर जडान भयो। तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुन सकेको छैन। लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन्। यस्तै यता उदयपुर जिल्ला अस्पतालको अवस्था पनि उस्तै छ ।

जिल्ला अस्पताल उदयपुरमा तयारी अवस्थामा रहेको दुईवटा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा एक करोड रुपैयाँभन्दा बढी लागतमा झन्डै नौ महिनाअघि निर्माण भएको भेन्टिलेटरसहितको आईसीयू कक्ष दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो । २०७७ वैशाखमा कोरोना विशेष अस्पताल सञ्चालनका लागि आएको एक करोड रुपैयाँबाट अस्पतालले गत भदौमा दुईवटा भेन्टिलेटरसहित ५ बेडको आईसीयू कक्ष निर्माण गरेको थियो ।

अस्पतालमा भेन्टिलेटर तयारी अवस्थामा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जीवनारायण मण्डलले बताए । ‘तर भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति छैन,’ मण्डलले भने, ‘भेन्टिलेटर सञ्चालन गर्न एमडी एनेस्थेसियोलोजिस्ट चाहिन्छ, अहिलेसम्म उपलब्ध हुन सकेको छैन ।’सरकारले स्वीकृत दरबन्दीअनुसार चिकित्सकको पदपूर्ति गर्न नसक्दा अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा प्रभावित भएको हो ।

कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ। गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन्।

You can share this post!