काठमाडाै – नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छ । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । रेकर्ड संख्यामा संक्रमित फेला पर्दा नेपालको निको हुने दर ८३.३ प्रतिशतमा झरेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।