विधालयसहित भिडभाड हुने क्षेत्रमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडाै – स्वास्थ्य मन्त्रालयले बढी भिडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो। मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ। ती जिल्लाका भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ। तर, ती सबै क्षेत्र बन्द गर्न नभनीकन मन्त्रालयले नजान अपिल गरेको हो। 

यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन्। यस्ता क्षेत्रमा सहभागी नहुन भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि अनुरोध गरेको छ।

You can share this post!