विप्लव
२०७७ माघ २९ गते चार कम्युनिस्ट पार्टीका बीचमा १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा गठन भएको छ । नेपालको राजनैतिक इतिहासमा यो नयाँ सुरुवात र प्रयोग हो । यसको प्रभाव दीर्घकालसम्म रहने स्पष्ट छ । यो वास्तवमै उत्साहको विषय हो । यो मोर्चा वस्तुगत आवश्यकता र जिम्मेवारी बोधको परिणाम हो । नेपालमा अनेकौं पटक चलेका क्रान्ति, महान जनयुद्ध र जनआन्दोलनका उद्देश्य सामन्ती तथा दलाल पूँजीवादी सत्तालाई आमूल परिवर्तन गर्ने र जनताको राज्यसत्ता स्थापना गर्ने थियो । परन्तु हरेक पटक विदेशी शक्तिहरु र देशभित्रका दलालहरुका साँठगाँठबाट जनतामाथि दलाल पूँजीवादी सत्ता एवं संसदीय व्यवस्था लादियो ।
परन्तु पछिल्लो पटक पनि यो व्यवस्था असफल भएको छ । जनताले कथित कम्युनिस्ट पार्टीलाई दुई तिहाइको मत दिँदा पनि देश संकटको भुमरीमा फस्न पुग्यो । देशमा सामाजिक असुरक्षा, भ्रष्टाचार, तस्करी, बलात्कार, वेराजगरी धान्नै नसक्ने गरी घटिरहेका छन् । जनताले यसको अग्रगामी निकास पुनः खोज्ने वस्तुगत अवस्था तयार भएको छ । यता क्रान्तिकारी पार्टीहरु, मित्र शक्तिहरुका बीचमा यो संकटलाई संसदवादकै यथास्थितिवादी गोलचक्करभित्र घुम्न दिनु हुँदैन, यसलाई यथाशिघ्र अग्रगामी पहलद्वारा निकास दिनुपर्छ भन्ने जिम्मेवारीबोध गंभीर ढंगले हुन पुग्यो । यसैको उत्तम परिणाम नै यो रणनीतिक संयुक्त मोर्चाको गठन हो ।
रणनीतिक संयुक्त मोर्चाको उद्देश्य दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको अग्रगामी एवं जनअपेक्षित विकल्प दिनु रहेको छ । यसका लागि संयुक्त मोर्चाले वैकल्पिक संयुक्त सरकारको निर्माण गर्दै सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा जनताको राज्य निर्माण गर्ने कार्यक्रम प्रस्तुत गरेको छ । मोर्चाले प्रस्तुत गरेको वैकल्पिक संयुक्त सरकार र जनमतको प्रयोगद्वारा राज्य व्यवस्थाको निर्धारण नै सबैभन्दा जनवादी एवं अग्रगामी संभावना हो । चालीस बर्षको संसदीय व्यवस्थाको अभ्यास र असफलताले पुष्टि गर्छ कि यो संकट संसद्वादी दल र गुटहरुले भने जस्तो केवल कुनै व्यक्ति, गुट र दल विशेषको कमजोरी र असफलता किमार्थ होइन । व्यक्ति र गुटहरु आफ्नो स्तरमा दोषी भएपनि सारमा यो दलाल पूँजीवाद र संसदीय व्यवस्थाकै असफलता हो । यसले जनअपेक्षा र आवश्यकताको नेतृत्व गर्न नसकेकै सत्य हो । तसर्थ कुनै व्यक्ति या पार्टीको विकल्प होइन, एकपटक व्यवस्थाकै विकल्पमा पुग्नु सबैभन्दा उत्तम समाधान हुन्छ ।
माघ २९ बाट रणनीतिक संयुक्त मोर्चा गठन सुरु भएको छ । यसलाई सबै मित्रशक्ति र व्यक्तित्वहरुसँगको एकताद्वारा सुदृढ एवं पूर्णता दिने कार्य निरन्तर अगाडी बढ्नेछ । जव यो मोर्चामा सारा मित्र शक्तिहरु एकताबद्ध एवं गोलबन्द हुँदै जानेछन्, यसको सार्थकता एवं सफलता निर्वाध रुपले सुनिश्चित बन्दै जानेछ । यसर्थ सबै परिवर्तनप्रेमी, रुपान्तरणप्रेमी, प्रगतिशील लोकतन्त्रवादी, देशभक्त मित्रहरुले यही दिशामा आफ्नो धारणा निर्माण गर्न आवश्यक छ ।