आजदेखि काठमाण्डुका धारामा मेलम्चीको पानी

काठमाडाै – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारदेखि उपत्यकावासीको घरघरमा पुग्ने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाण्डु जिल्लाका सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ । उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।

काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ । केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ । आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

कति बजे खस्छ काठमाण्डुका धारामा ?

आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने भनिएको पानी सुन्दरीजल क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बिहान ८ बजे नै काठमाण्डुका धारमा पानी पठाउने तयारी गरेको भएपनि विद्युत आपूर्ति नभएका कारण पानी पठाउन ढिला भएको बताए ।

उनले ११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गर्ने र काठमाण्डुवासीको घरको धारमा २ बजेपछि पानी आउने जानकारी दिए । आज उपत्यकाका घरका धारामा पानी आउन थालेपछि काठमाण्डुवासीको २७ वषदेखिको सपना पुरा हुनेछ ।

काठमाण्डुका यी ठाउँमा हुदैछ वितरण

काठमाण्डु उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उहाँले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।’

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, ‘त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।’

आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । उनले कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उनले बताए । उनले भने, ‘ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुभ्mन सक्नुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । शाक्यले समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको जानकारी दिए । कुनै पनि ठाउँमा चुहाउनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाण्डु उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

You can share this post!