प्रधानमन्त्री ‌ओली फेरि झापा जाँदै, आजै मोरङ पनि पुग्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन्। दुई दिनअघि मात्रै प्रधानमन्त्री ओली झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ। दुर्गा प्रसाईंले सञ्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ। उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

You can share this post!