प्रधानमन्त्रीले गरे कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्।

हेलिकप्टरमार्फत् कञ्चनपुर पुगेका प्रधानमन्त्रीले सोमबार दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

२५ वर्षअघिदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्र बनाउन सरकारले ९ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा यहाँ औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला बजेट विनियोजन गरिए पनि निकुञ्जको क्षेत्र पर्ने  भए भन्दै काम सुरू भएको थिएन।

त्यसपछि पटक-पटक चुनावी एजेन्डा बनेको औद्योगिक क्षेत्र बनाउने काम पूरा भएको छैन।

प्रधानमन्त्रीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम सम्पन्न हुने विश्वास गरिएको छ।

उक्त क्षेत्र पूर्व पश्चिम महेन्द्र राजमार्गबाट ६ किलोमिटरको दूरीमा छ भने दैजी–जोगबुढा राजमार्गसँग जोडिएको पनि छ।

यहाँ औद्योगिक क्षेत्र तयार पारिए वन, कृषि, धातु तथा  प्लाष्टिक, इन्जिनियरिङ र फेव्रिकेटिङ, खाद्य, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायतका १ सय बढी उद्योग स्थापना हुने बताइएको छ।

सरकारले यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि ९ सय बिगाह जमिन कायम गरेको छ तर हाललाई २९३ बिगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरू हुने वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए।

उनले उक्त जमिन जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र वेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गा पर्ने बताए।

ओली समूहको नेकपाका नेता नारदमुनि रानाले दैजीछेला औद्योगिक क्षेत्र सुदूरपश्चिमको आर्थिक क्षेत्रको मेरूदण्डको रूपमा स्थापित हुने बताए। यस औद्योगिक क्षेत्रमा २२ हजार बढी नेपालीलाई  रोजगारी दिने सरकारको लक्ष्य रहेको छ।

Source:Setopati

You can share this post!