१० हजार मेट्रिक टन चिनी आयात प्रक्रियाबाट खाद्य कम्पनीले हात झिक्यो, स्वदेशमा उपलब्ध बेच्ने


७ पुस , काठमाडौं। भारतबाट सहुलियत भन्सार दरमा १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रियाबाट सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हात झिकेको छ।  

चालु वर्ष चिनी आयात नगर्ने भन्दै प्रक्रिया स्थगित गरेको हो। लकडाउनको समयमा निजी उद्योगहरुसँग चिनीको स्टक निकै कम थियो।चाडपर्वको समयमा बजारमा अभाव हुन नदिन सरकारले गत साउनमा कम्पनीलाई उक्त परिमाणमा चिनी आयात गर्न स्वीकृति दिएको थियो।ल्याउनका लागि कम्पनीले ४५ दिने टेण्डर पनि गरेको थियो।

भारतमा चिनीको मूल्य दैनिक परिवर्तन भइरहेकाले कुनै पनि आपूर्तिकर्ता कम्पनीले चिनीको टेण्डरमा सहभागी हुन नमानेको खाद्य कम्पनीका अधिकारीहरूले बताउँदै आएका थिए। अबको केही समयमा स्वदेशी चिनी नै बजारमा आउने भएकाले त्यसैलाई प्राथमिकता दिने कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन।

‘सरकारी कम्पनीको प्रक्रियामा केही समय लाग्छ, हामीले आह्वान गर्दा पहिलोमा टेण्डरै परेन। अर्को टेण्डर खुलाउँदा पनि तत्काल चिनी नआइपुग्ने भएकाले हालका लागि आयात स्थगित गरिएको हो,’ उनले भनिन्, ‘आवश्यक परे अर्को वर्ष आयात गर्न सकिने व्यवस्थापनको निर्णय छ। तर हालका लागि स्वदेशी चिनी खरिद गरि बिक्री गर्न सकिन्छ।’ 

सरकारले चाडपर्वलाई लक्षित गरेर कम्पनीलाई सहुलियत भन्सार दर चिनी आयात गर्न भनेको थियो। दसैंतिहारमा ल्याउने पहल गरे पनि टेण्डरमा आपूर्तिकर्ता सहभागी हुन नआएको भन्दै प्रक्रिया अघि बढाइएको थिएन। खाद्य कम्पनीले यतिबेला साल्ट ट्रेडिङले ल्याएको चिनी किनेर आफ्ना बिक्री कक्षमार्फत बेच्दैछ।

सर्वसाधारणलाई खाद्यवस्तु सहुलियत दरमा बिक्रीका लागि सञ्चालित सरकारी कम्पनीमा व्यापार बुझेको नेतृत्व नहुनु र आवश्यकताअनुसार प्रक्रिया अघि बढाउन चासो कम हुनुले चिनी ल्याउनबाट पछि सरेको खाद्यकै कर्मचारी बताउँछन्।

गएको दसैंमा पनि ल्याउने भनिएको च्यांग्रा कम्पनीले ल्याएन। अन्तिम समयमा चीनबाट आयात नभएको र पाइएको पनि महंगो परेको भन्दै च्यांग्रा ल्याउने योजना स्थगित गरेको थियो। खसी पनि निकै कम परिमाणमा ल्याएको थियो।  

गत साउनयता बजारमा चिनीको भाउ क्रमिक बढिरहेको थियो। स्वदेशी उद्योगहरूले उत्पादन गरेको चिनीको स्टक सकिएपछि बजारमा भएको मूल्यवृद्धिले चाडपर्व महंगो पर्ने अवस्था देखिएको थियो। बजारमा आपूर्ति सहज गराउन सरकारले खाद्य र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५०  प्रतिशत भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो।

आयातमा साल्ट ट्रेडिङ जतिको तदारुकता नदेखाउँदा खाद्यले चिनी नल्याएको हो। साल्ट ट्रेडिङले प्रक्रिया अघि बढाएर चिनी ल्यायो। खाद्य भने टेण्डर आह्वान गर्दा पनि आपूर्तिकर्ता व्यवसायिक फर्महरू सम्पर्कमा नआएको भन्दै पन्छिरह्यो।

अनुमति पाएअनुसार साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन चिनी दसैंअघि नै ल्याएको थियो। उक्त चिनी सकिन लागेपछि थप ३० हजार मेट्रिक टनका लागि मन्त्रालयबाट स्वीकृतिका लागि पुनः पत्राचार गरिसकेको छ। 

Source: bizmandu.com

You can share this post!