के कोरोना निको भइसकेकाले पनि खोप लगाउनु पर्छ?

२३ मंसिर, काठमाडौं । मानौं, तपाईंलाई कोरोना संक्रमण भइसकेको छ। अब पनि तपाईंलाई खोप जरूरत पर्छ? विज्ञहरू के भन्छन्?

गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू ‘फाइजर’ र ‘मोडेर्ना’ का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो।

त्यतिबेलै अमेरिकी सांसद र्‍याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान त्यसतर्फ आकर्षित गरे।

‘यी दुवै नयाँ खोपहरूले आफूलाई ९० प्रतिशत र ९४.५ प्रतिशत प्रभावकारी भनेर दाबी गरिरहेका छन्,’ केन्टकी राज्यबाट रिपब्लिकन पार्टीका सांसद पलले ट्वीटमा भनेका थिए, ‘तर कोरोनाविरूद्ध प्राकृतिक रूपले नै विकास हुने रोग प्रतिरोधी क्षमता ९९.९९८२ प्रतिशत प्रभावकारी हुने भएकाले त्यो झनै फाइदाजनक हुन्छ।’

कोरोनाले वितन्डा मच्चाएका बेला लकडाउन र आर्थिक नोक्सानबाट अत्यधिक चिन्तित धेरै अमेरिकीमध्ये सांसद पल पनि एक हुन्। उनले यो भाइरसबाट संक्रमित हुनुमै पनि फाइदा छ भनेर आफ्ना मत राखेका थिए। उनलाई पनि कोरोना भएको थियो जसबाट मुक्ति पाएपछि अब आफूलाई खोपले दिन सक्नेभन्दा अधिक सुरक्षा प्राकृतिक रूपबाटै प्राप्त भएको दाबी उनले गरेका थिए।

‘यो तर्कसँग जोडिएको जटिल अनि खतरनाक प्रश्न के भने, कसले चाहिँ कोरोना जित्छ भन्ने हो। यसबारे कसैले पूर्वानुमान लगाउन सक्दैनन्,’ टोरन्टो विश्वविद्यालयमा रोगप्रतिरोधी विशेषज्ञ जेनिफर गोमरम्यान भन्छिन्, ‘त्यसैगरी कुनै पनि क्षेत्रमा अस्पतालको क्षमतादेखि लिएर व्यक्तिपिच्छे मानिसको रोगप्रतिरोधी क्षमताजस्ता कुरा पूर्वानुमान लगाउनै सकिँदैन। यस्तो अवस्थामा रोग झेलेर प्राकृतिक रूपबाटै प्रतिरोधी क्षमता विकास गर्ने कुरा गर्नु असाध्यै गलत निर्णय हुने थियो।’

गोमरम्यानका अनुसार त्यस्तो अन्धकारको यात्रा गर्नुभन्दा खोपको कुरामै केन्द्रित हुनु बढी फलदायी हुन्छ।

‘भ्याक्सिनको प्राथमिक र सबभन्दा ठूलो फाइदा भनेकै यसले पूर्वानुमान गर्न सक्ने गरी सुरक्षित पार्छ,’ उनी भन्छिन्, ‘प्रभावकारी रोग प्रतिरोधी क्षमता विकास गर्न खोप विधिवत तवरले बनाइएको हुन्छ।’

तर, कसैलाई कोरोना भएर उसको शरीरमा प्राकृतिक रूपले विकास हुने रोग प्रतिरोधीको तुलना खोपले दिने सुरक्षासँग कसरी गर्न सकिएला? के तपाईंलाई कोरोना भएर अब खोपले दिनेभन्दा बढ्तै सुरक्षित भइसक्नुभएको छ?

हामीले ताजा नतिजा विश्लेषण गर्दै यस विषयमा प्रष्ट पारिदिन विशेषज्ञहरूलाई अनुरोध गर्‍यौं।

बलियो रोग प्रतिरोधी क्षमता केले विकास गर्छः प्राकृतिक हिसाबले शरीरमै विकास हुने रोग प्रतिरोधीले वा खोपले?

यसलाई छोटकरीमै उत्तर मागियो भने ‘हामीलाई पनि थाहा छैन’ भनेरै जवाफ आउनेछ।

तर विशेषज्ञहरूका अनुसार देखिएको कुरा के भने, खोपले बिरामी पर्नबाट चाहिँ मानिसलाई बचाउँछ। र यी खोप बढी भरपर्दा पनि छन्।

अधिकांश रोगमा प्राकृतिक रूपले विकासित प्रतिरोधी क्षमता खोपभन्दा शक्तिशाली हुन्छ। उदाहरणका निम्ति हाँडे वा गलफुलो लिन सकिन्छ। यो रोग एकपटक लागेपछि प्रतिरोधी यसरी विकास हुन्छ, जीवनभर दोहोरिँदैन। जबकी यो रोगविरूद्ध एक वा दुई डोजसम्म खोप लिएकालाई पनि रोगको सम्भावना हुन्छ।

तर ‘न्यूमोकोकल ब्याक्टेरिया’ जस्ता केही समस्याका मामिलामा प्राकृतिक रोग प्रतिरोधीले भन्दा खोपले बढी प्रभाव देखाउँछ। कोरोना खोपलाई पनि सुरूमै जुटेका केही प्रमाणले यही वर्गभित्र पारेको थियो।

मोडर्ना कम्पनीले तयार पारेको खोप लगाएका स्वयंसेवी र कोरोना झेलेर रोग प्रतिरोधी विकास गरेकाबीच हालै एक परीक्षण गरिएको थियो। परीक्षणमा खोप लगाएकामा बढी मात्रामा ‘एन्टीबडी’ देखियो। यो आफैंमा रोग प्रतिरोधीका मामलामा बढी प्रभावकारी हुनुको प्रमाण हो।

सांसद पलको दृष्टिकोणबाट हेर्दा रोगप्रतिरोधी विकास भएकाको पक्षमा बलियो तर्क देखिन्छ। ठूलो संख्यामा संक्रमितले कमै मात्रामा भए पनि आफूभित्र एन्टीबडीको उत्पादन गर्छन् र रोग प्रतिरोधी कोषले संक्रमणसँग सजिलै मुकाबिला गरिदिन्छ। त्यसबाहेक अहिलेसम्मका प्रमाण अनुसार संक्रमण दोहोरिएन भने यो सुरक्षा केही वर्ष जारी रहन्छ। यसले कुनै पनि गम्भीर बिरामी हुनबाट जोगाउँछ।

तर रोगप्रतिरोधीको यो प्रतिक्रियामा अत्यन्त गतिशीलता हुन्छ जसमा एन्टिबडीको स्तरमा दुइ सय गुणासम्म अन्तर आउनेछ। थोरै असर परेका मानिसको हकमा केही महिनाभित्रै पुनः संक्रमण सम्भावना प्रतिरोधी क्षमताले रोकिदिएको हुन्छ। तर त्यो दीर्घकालीन नहुन सक्छ।

‘त्यस्ता मानिसको हकमा खोप बढी लाभदायी हुन्छ,’ हार्वर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका महामारीविज्ञ बिल हानाज भन्छन्।

प्राकृतिक हिसाबले रोगप्रतिरोधी क्षमता विकास गरेकाको हकमा यस्तो विविधता देखिनुको कारणमा सम्भवत ती व्यक्ति संक्रमित हुने बेलामा कुन मात्रामा भाइरस प्रवेश गरेको थियो भन्ने हुन सक्छ। खोप लगाउने मानिसका हकमा भने उनीहरू प्रत्येकले एउटै मात्रामा खोप लिइरहेका हुन्छन्।

‘जुन मात्रामा खोप दिइएको हुन्छ, त्यो मात्राबारे हामी जानकार हुन्छौं। त्यो मात्रा रोग प्रतिरोधी क्षमता तयार पार्न प्रभावकारी र पर्याप्त हुन्छ भन्ने पनि थाहा हुन्छ,’ डा. गोमरम्यान भन्छिन्, ‘यसले खोप लिएकाको मामिलामा ढुक्क हुन सघाउँछ।’

मानिस यदि तन्नेरी, स्वस्थ र कोरोनाबाट धेरै जोखिम हुनसक्ने अवस्थाबाट मुक्त छ भने खोप कुर्नु राम्रो कि प्राकृतिक तवरबाटै रोग प्रतिरोधी ग्रहण गर्नु?

यो प्रश्नको उत्तर दिन भने विशेषज्ञहरूको एकमत देखियो। उनीहरूका अनुसार कोरोना ग्रहण गर्नु भनेको असाध्यै बढी खतरनाक विकल्प रोज्नु हो।

‘प्राकृतिक हिसाबले संक्रमित हुँदा बढी खतरा रहन्छ,’ सियाटलस्थित युनिभर्सिटी अफ वासिङटनकी रोग प्रतिरोधी विज्ञ मारियन पेपर भन्छिन्, ‘जबकि संक्रमित भएर बाहिर निस्कनुभन्दा अर्को विकल्प कमै समस्यादायी देखिन्छ।’

धेरै मोटाघाटा वा मधुमेहजस्ता रोग लागेकाको हकमा कोरोनाले असाध्यै जोखिमपूर्ण अवस्थामा लगिदिन सक्छ। अन्यथा तन्नेरीका हकमा यो भाइरस कम जोखिमपूर्ण देखिन्छ। त्यसैगरी पुरुषभन्दा महिला बढी सुरक्षित देखिएका छन्।

यो सब हुँदाहुँदै पनि यी तथ्य सबैका मामिलामा एकै डालोमा राखेर हेर्न मिल्दैन। कतिपय मानिस सबै हिसाबले सुरक्षित घेरामा देखिए पनि उनीहरू कोरोनाका कारण असाध्यै सिकिस्त भइदिन्छन्। वा, मृत्यु नै भइदिन्छ। सुरक्षा घेरामा नरहेकै कतिपयलाई भने लक्षण पनि देखिँदैन। यस्तो किन हुन्छ भन्नेबारे चाहिँ चिकित्सकहरू पनि अनभिज्ञ छन्।

त्यसैगरी कतिपयका हकमा वंशाणुगत हिसाबले नै उनीहरूको शरीरभित्र रोग प्रतिरोधीको अवस्थाले पनि काम गरिरहेको केही अध्ययनले देखाएको छ।

‘यस्तो अवस्थामा कुन उमेरका मानिसमा बढी जोखिम छ भनेर भन्नै मुश्किल छ,’ डा. गोमरम्यान भन्छिन्, ‘जोखिमको उमेरसँग सम्बन्ध पनि देखिँदैन।’

एक अध्ययनअनुसार १८देखि ३४ वर्षबीचका अस्पताल भर्ना भएका तीन हजारभन्दा बढी कोरोना बिरामी परीक्षण गर्दा उनीहरूमध्ये २० प्रतिशतलाई आइसियुमा राख्नुपरेको थियो। तीन प्रतिशतको मृत्यु नै भएको थियो।

‘अधिकांश मानिसलाई अस्पताल लैजानै पर्दैन वा धेरै आइसियुमा लैजानुपर्ने वा मृत्यु हुने सम्भावना रहँदैन भन्ने सत्य हो,’ खोपका निम्ति संघीय सल्लाहकार परिषदमा बालरोग विशेषज्ञको अमेरिकी एकेडेमीका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी डा. इभोन माल्दोनादो भन्छिन्, ‘तर, खतरनाक रोगबाट उन्मुक्ति पाउनेगरी कोही पनि रोगप्रतिरोधी क्षमताले पूर्ण छैनन्।’

अर्कातर्फ मानिस आफू कोरोनाबाट उति जोखिम अवस्थामा नरहे पनि उसका साथी वा परिवारका निम्ति त्यो अत्यन्त जोखिमपूर्ण हुन सक्ने पनि उनी थप्छिन्।

कोरोनाबाट मुक्त तीनमध्ये झन्डै एक जनामा महिनौंपछि पनि थकान वा मुटु तीव्र चल्ने जस्ता दीर्घकालीन समस्या देखिइरहेको छ। यस्तो हुनेमा यसअघि कहिल्यै स्वास्थ्य समस्या नबेहोरेका ३५ वर्षमुनिका मानिस पनि छन्। कोरोनाबाट मुक्त कतिपयले भने रोग प्रतिरोधीले आफ्नै शरीरका विभिन्न अंगमा प्रहार गर्ने गरी लक्षण देखाउन थालेका छन्।

यी सबका विपरित, कोरोना खोपले पहिले नै जानकारी सार्वजनिक भइसकेका थोरै मात्र जोखिम बोकेका हुन्छन्। खोप तयार पार्नेले त्यसलाई बजारमा ल्याउनुअघि दसौं हजार मानिसमा प्रयोग गरेर यसबाट कुनै असर छैन भन्ने पहिचान पनि गरिसकेका हुन्छन्।

‘जब लाखौं संख्यामा खोप लगाउन सुरू हुन्छ, त्यसपछि मुश्किलैले समस्याहरू देखिनेछन्,’ डा. हानाज भन्छन्, ‘अहिले प्राकृतिक हिसाबले रोग प्रतिरोधी विकास गरेकामा देखिएका समस्याको तुलनामा भने खोपले ल्याउने समस्या दुर्लभै हुन्छ भन्नेमा ढुक्क भए हुन्छ।’

कोरोना भइसकेकाले खोप लगाउँदा सुरक्षित हुन्छन्? हुन्छन् भने कहिले लगाउनु उपयुक्त होला?

कोरोना भइसकेकालाई पनि कुनै न कुनै समय खोप लगाउँदा त्यो सुरक्षित हुने मात्र नभई लाभदायी पनि हुने विशेषज्ञहरू बताउँछन्।

‘मानिसमा पहिल्यै रोग प्रतिरोधी विकास भइसकेको अवस्थामा फेरि भ्याक्सिन लगाउँदा पटक्कै हानिकारक हुँदैन,’ डा. पेपर भन्छिन्, ‘बरू त्यसो गर्नाले एकपटक संक्रमित भइसकेर रोग प्रतिरोधी विकास गरिसकेकाको मामिलामा पनि भ्याक्सिन लगाउँदा अझ बलियो रोग प्रतिरोधी शक्ति शरीरभित्र विकास गर्न मद्दत मिल्छ।’

बुधबार मात्र अपरेसन वार्प स्पिडका प्रमुख सल्लाहकार डा. मोसेफ स्लेवीसँगको भेटघाटका क्षणमा उनले यो तर्क अझ पुष्टि हुने आधार प्रस्तुत गरेका थिए। स्लेवीका अनुसार खोप क्लिनिकल परीक्षणबेला दस प्रतिशत यस्ता मानिस फेला परेका थिए जो अनजानमै भाइरसबाट संक्रमित बनेका रहेछन्।

डा. स्लेवीका अनुसार त्यस्ता संक्रमितमा खोप लगाएपछि वृद्धि भएको रोग प्रतिरोधी क्षमता परीक्षण गरिसकिएको छ। यदि मानिस पहिल्यै कोरोनाको शिकार भइसकेको छ भने उसले खोपका लागि केही समय पर्खन सक्ने उनी बताउँछन्।

डा. पेपरको टिम र अरू अध्ययनमा पनि संक्रमित भएको अघिल्लो केही महिनामा रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन थाल्ने तर त्यो अवधिमा कोरोना भइसकेका सबै सुरक्षित नै रहनेछन्। 

‘कुनै न कुनै किसिमको रोग प्रतिरोधी विकास नभएको हामीले कसैलाई भेटेका छैनौं,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा एकपटक संक्रमित भइसकेकाले अन्य उच्च जोखिममा रहेका मानिसले जस्तै गरी खोप लगाउन दौडादौड गर्नुपर्ने कारण म देख्दिनँ।’

खोपसम्बन्धी अमेरिकी संस्थाले पनि खोप वितरणमा मुख्य भूमिका निर्वाह सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनलाई विगत ९० दिनयता संक्रमित भइसकेका मानिसलाई खोपका निम्ति प्राथमिकतामा राख्नु जरूरी नरहेको सुझाव बुधबार दिइसकेको बताइएको छ।

‘बरू कुनै बेला मिलाएर यो ९० दिन चाहिँ उपयुक्त अवधि हो कि होइन भनेर हामीले फेरि बुझ्नुपर्ने हुनसक्छ,’ डा. माल्दोनादो भन्छिन्, ‘तर, अहिलेका निम्ति भर्खर केही समयअघि मात्र संक्रमित भइसकेका मानिसलाई खोपका निम्ति पहिलो घेरामै राख्न चाहिँ जरुरी छैन। त्यसले तत्काल सीमित मात्रामा उपलब्ध हुने खोप सकेसम्म सही मानिसको पहुँचमा पुग्न मद्दत गर्नेछ।’    

(द न्यूयोर्क टाइम्सका लागि अपूर्वा मन्दाभिलीले लेखेको लेखको भावानुवाद।)

Source: setopati.com

You can share this post!