सामाजिक सञ्जालमा यौनजन्य तथा अश्लील भिडियो बनाउनेलाई धमाधम कारबाही गरिँदै

प्रहरीले सामाजिक सञ्जालमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतकाे साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही प्रक्रिया सुरु गरेको हो।

सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको प्रहरीले जनाएको छ।

ब्युरोका अनुसार अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा घटनाको जानकारी एवं सूचना सम्बन्धित निकायसम्म पुर्‍याउने क्रममा असल नियत हुँदाहुँदै पनि सही निकाय र माध्यमको छनौट नहुँदा पीडित अझ पिडित हुने अवस्था बढेकाे छ।

त्यसैले त्यस्ता कार्य भए गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टेलिफोन न. ०१–४२१९०४४, ४२१९०४८, मोबाइल नं. ९८८१२८६७७० वा ईमेल ठेगाना cyberbureau@nepalpolice.gov.np मा सूचना दिन आग्रह गरिएको छ।

Source: nepalnews

You can share this post!