निःशुल्क खाना खुवाउने ठाउँ फेरियो, खुलामञ्चको विकल्पमा प्रसूतिगृह नजिकको वागमती किनार

मंसिर ३, काठमाडौं।  खुलामञ्चमा वितरण हुँदै आएको निःशुल्क भोजन थापाथली (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल) नजिकै वागमती किनारामा गराइने भएको छ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु बीचको सहमति अनुसार थापाथलीबाट खाना वितरण गर्न लागिएको हो। खुल्ला मञ्चमा स्वास्थ्यका दृष्टिकोणले पनि असुरक्षित भएको भन्दै वैकल्पिक व्यवस्था गरिएको उक्त  स्थानमा ढल गन्हाउने छ। पानी,शौचालयको व्यवस्था छैन।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघसंस्थाकै अनुमतिमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिकै  खानाको व्यवस्था  गरिएको हो। ‘स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीति महानगरपालिकाले लिएको छ,’ उनले भने, ‘हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौं।’

सापकोटाले अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु बीचका निरन्तर छलफल भइरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउन पहल भइरहेको जानकारी दिए। ‘हामी अहिले पनि निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुसँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौं,’ उनले भने, ‘केही दिन भित्रै हामी व्यवस्थापन गर्ने गरी लागेका छौं।’

उनले निःशुल्क भोजनको गराउने स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भइरहेको भन्दै अस्थायी रूपमा उक्त स्थानमा व्यवस्था गरेको बताए। ‘यहाँसँगै अन्य विभिन्न ठाउँमा पनि हामीले स्थान पहिचान गरेका छौं,’ उनले भने, ‘मेयरज्युले सार्वजनिक गाडी बढी मात्रामा ओहरदोहर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौं भनेपछि हामी त्यही अनुसार अघि बढेका हौं । उहाँले पूर्व, उत्तर, दक्षिण पायक पर्ने ५-६ ठाउँमा व्यवस्था गर्नुहोस भन्नुभएको छ। त्यसो गर्दा खुलामञ्च जस्तो दुर्घटनाको डर पनि नहुने, धुलो, धुँवा पनि हुँदैन।’

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिकरूपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ। दुई दिन अघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच जनाको उद्धार गरेको उनले जानकारी दिए।

महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड बढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको जनाएको छ।

Source: bizmandu.com ( photo: onlinekhabar)
 

You can share this post!