फाइबर इन्टरनेट चलाउने नौ लाख ६१ हजारभन्दा धेरै, फोरजी प्रयोग गर्ने एनसेलका बढी

२० कात्तिक, काठमाडौं। गत भदौमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ६९ हजारले बढेको छ। साउनसम्ममा आठ लाख ९२ हजार ४२३ जनाले फाइबर इन्टरनेट प्रयोग गर्ने गरेकोमा भदौमा नौ लाख ६१ हजार ४८१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले कात्तिकको एमआईएस प्रतिवेदनमा गत भदौसम्मको तथ्यांक समावेश गरेको छ। जसअनुसार सबैभन्दा बढी फाइबर इन्टरनेट प्रयोगकर्ता वर्ल्डलिंकको रहेको छ।

वर्ल्डलिंकको फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या चार लाख दुई हजार ९९ पुगेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो महिनाको तुलनामा वर्ल्डलिंकले आठ हजारभन्दा बढी नयाँ फाइबर इन्टरनेट ग्राहक थपेको हो।

वर्ल्डलिंकपछि बढी फाइबर इन्टरनेट प्रयोगकर्ता भायनेटको रहेको छ। यसको फाइबर इन्टरनेट चलाउने एक लाख १७ हजार २५३ पुगेका छन्। अघिल्लो महिना भायनेटको फाइबर इन्टरनेट प्रयोगकर्ता एक लाख १४ हजार हाराहारी रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ।  

यस्तै, सुबिसुको फाइबर इन्टरनेट चलाउने करीब एक लाख १६ हजार पुगेका छन्। अघिल्लो महिनाभन्दा सुबिसुले भदौमा छ हजार ८६५ नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको छ। क्लासिक टेकको भने फाइबर इन्टरनेट प्रयोगकर्ता एक लाख नौं हजार ८७४ पुगेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। साउनमा यसको फाइबर इन्टरनेट प्रयोग गर्नेको संख्या एक लाख सात हजार हाराहारी थियो। 

त्यसैगरी, सरकारी स्वामित्वको नेपाल टेलिकमले एक महिनामा १२ हजार सात सय नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको प्राधिकरणले जनाएको छ। अघिल्लो महिना साउनमा एनटीसीको फाइबर इन्टरनेट चलाउने जम्मा ३७ हजार हाराहारी थिए। भदौमा वायरलेस इन्टरनेट प्रयोगकर्ता ४७ हजार सात सय ८९ र केबल इन्टरनेट प्रयोगकर्ता दुई लाख २६ हजार १९ रहेको प्राधिकरणले जनाएको छ।

साउनमा वायरलेस इन्टरनेट चलाउने साढे ४५ हजारभन्दा बढी थिए भने केबल इन्टरनेट चलाउने दुई लाख ३१ हजारभन्दा बढी रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ। प्राधिकरणको प्रतिवेदन अनुसार, वायरलेस इन्टरनेट चलाउनेको संख्या महिना दिनमा ११ सयभन्दा बढीले बढेको भएपनि केबल इन्टरनेट प्रयोगकर्ता ५६ सय ६१ ले घटेर दुई लाख २६ हजार पुगेको छ ।  

फोरजी प्रयोगकर्ता ५५ लाख नाघे
भदौमा फोरजी प्रयोगकर्ताको संख्या ५५ लाख नाघेको छ। सबैभन्दा बढी फोरजी प्रयोगकर्ता निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको रहेको प्राधिकरणले जनाएको छ। एनसेलको फोरजी सेवा प्रयोग गर्ने ३७ लाख २९ हजार ४५३ पुगेका छन्।

यस्तै, नेपाल टेलिकमको फोरजी सेवा लिने १६ लाख चार हजार ४५६ पुगेका छन्। अघिल्लो महिना एनटीसीको फोरजी प्रयोगकर्ता साढे १५ लाख हाराहारी मात्रै थियो। स्मार्ट टेलिकमको फोरजी चलाउने एक लाख ८२ हजार पाँच सय पाँच रहेको छ। 

यस्तै, एक महिनाको अवधिमा थ्रीजी प्रयोगकर्ताको संख्या झण्डै साढे तीन लाखले घटेको प्राधिकरणको तथ्यांकले देखाउँछ। एनसेल र एनटीसीका थ्रीजी प्रयोगकर्ता गत भदौमा एक करोड १२ लाख हाराहारीमा झरेको देखिन्छ।

Source: bizmandu.com

You can share this post!