दसैंमा कति खसीबोका भित्र्याउने दोधारमा व्यवसायी

असोज २०,काठमाडौं । काव्यवसायीले दसैंका लागि भनेर खसी, बोका, च्यांग्रा, कुखुरा तथा अन्य माछामासुको कारोबार थालिसके। तर पोहोरपरार जस्तो यो वर्ष भनेर माछामासु व्यवसायीलाई दसैंको रौनक छैन। 

झन्डै आधावर्षको लकडाउनका कारण केही मानिस गाउँमै छन्। सहरमा हुनेलाई पनि दसैंमा गाउँ जान पाउने हो कि होइन, दुविधा छ। सरकारले समेत यथास्थानमा बसेर दसैं मनाउन आग्रह गरेपछि उपत्यकाका लागि कति माछामासु ल्याउने दोधारमा परेको व्यवसायीहरू बताउँछन्। 

कहाँबाट माछामासु ल्याउने, मागअनुसार ल्याउन सकिने हो होइन भन्ने व्यवसायीलाई चिन्ता भएको चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुली बताउँछन्।

‘कोरोना र लकडाउनले गर्दा कति मान्छे गाउँ गएका छन्। यहाँ भएका पनि गाउँ जाने हुन् कि यहीँ बस्ने हुन्, केही थाहा छैन,’ पराजुलीले भने, ‘हामी पनि कति खसी-बोका भित्र्याउने भन्नेमा दोधार छौं।’

गत वर्ष काठमाडौं उपत्यकामा करिब ३१ हजार खसी भित्रिएको थियो। यो वर्ष २२ देखि २५ हजार मात्र भित्रने उनले बताए। 

‘काठमाडौंमा कति बस्छन् थाहा छैन। लकडाउन भएन भने धेरै गाउँ जान पनि सक्छन्। कतिको रोजगारी गुमेको छ। धेरैसँग पैसा छैन। पहिले जति मासुमा खर्च नगर्न सक्छन्। त्यसैले घटाएर ल्याउने सोचेका छौं,’ उनले भने।

कोरोना र लकडाउन कारण बिहे-व्रतबन्धजस्ता धेरै कर्म पनि रोकिए। यसकारण खसीबोका खपत एकदमै कम भयो। त्यस कारण दसैंमा भनेजस्तै खसीबोका किन्न सकिने उनको अनुमान छ।

‘पहिले बिहे, व्रतबन्धमा बढी खसी खपत हुन्थ्यो। दसैंमा भनेजस्तो माग पुर्‍याउन गाह्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले शुभकार्य धेरै नहुँदा खपत भएको छैन। दसैंमा खसी अपुग हुँदैन।’

हाल बजारमा खसीको मासु प्रतिकिलो १३ सय रूपैयाँ छ। दसैंमा मूल्य बढ्छ कि बढ्दैन भन्ने विषयमा भने अहिले भन्न नसकिने उनी बताउँछन्। 

‘मूल्य घटबढबारे अहिले भन्न सकिँदैन। माग र आपूर्तिमा भर पर्छ। खसी धेरै आए, मूल्य कम हुन्छ। कम भए भाउ बढ्छ,’ उनले भने। 

दसैंका लागि काठमाडौं उपत्यकामा सबै जिल्लाबाट खसी आयात गरिन्छ। मुख्यगरी कलंकी, टुकुचा र भृकुटीमण्डपमा खसी व्यापार हुन्छ।

कोरोनाकै कारण यो वर्ष राँगा-भैंसीको माग पनि ५० प्रतिशत कम भएको पशुजन्य व्यवसायी संघका अध्यक्ष राजेन्द्र पराजुलीले बताए।

‘दसैंमा खसीबोकाको तुलनामा राँगा-भैंसीको माग कम नै हुन्छ। यो वर्ष त्यसको पनि आधा हुने भयो,’ उनले भने। 

बंगुर मासुको अवस्था पनि फरक छैन। गत वर्ष दसैंमा ७ सय बंगुर काठमाडौं भित्रिएकामा यो वर्ष ५ सय मात्र ल्याइने बंगुर व्यवसायी संघका महासचिव डिल्लिराज पौडेल बताउँछन्।

उनका अनुसार बंगुर ल्याउन ढुवानी समस्या छ। लकडाउनका कारण दाना व्यवस्था गर्न नसक्नाले किसानले पनि कम पालेका छन्। रेस्टुरेन्टमा खपत छैन। बंगुर व्यापार खसीबोका जस्तो प्रत्यक्ष भने हुँदैन। जसले ल्याउँछ उसैले  मासु बनाएर बेच्छन्।

‘त्यसैले कम ल्याउन लागिएको हो,’ पौडेलले भने, ‘अहिले बंगुर मासु ५ सय ६० रूपैयाँ किलो छ। दसैंमा धेरै भए ६ सयसम्म पुग्छ।’

लामो समय अस्थिर बजारले धेरैको आर्थिक स्रोतमा कमी आएको देखिन्छ। त्यसैले पनि यस वर्ष दसैंमा माछामासु कम बिक्री हुने अनुमान माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्कीको छ।

यो वर्ष पोहोरको दाँजोमा आधा पनि व्यापार नहुने उनी अड्कल काट्छन्।

‘लकडाउन भएन भने धेरै मान्छे घर जान्छन्। यहीँ हुनेहरूसँग पनि पैसा कम छ,’ खड्कीले भने, ‘पोहोरभन्दा आधा पनि व्यापार हुँदैन जस्तो लाग्छ।’

मागै कम भएपछि मूल्य पनि नबढ्ने उनी बताउँछन्। सरकारी तवरबाट आउने खसीबोकाको मूल्य बढेर आयो भने चाहिँ बढ्न सक्ने खड्की बताउँछन्। 

‘सरकारले घटाएर मूल्य राख्यो भने निजी व्यापारीले पनि घटाउँछन्। बढाएर राख्यो भने बढाउँछन्,’ उनले भने। 

गत वर्ष नौरथामा कुखुराको मासु ३ लाख किलो, खसी करिब १० हजार वटा, राँगा ६ हजार ३ सय किलो, बंगुर २ हजार २ सय ५० किलो, माछा ९ लाख किलो र च्याङ्ग्रा २० देखि ३० हजार वटा बिक्री भएको थियो।

हाल बजारमा कुखुरा मूल्य प्रतिकिलो २ सय ५०, खसी १३ सय, माछा २ सय ५०, बंगुर ४ सयदेखि ४ सय ५० र राँगाको ५ सय रूपैयाँ पर्छ।

सेतोपाटीबाट

You can share this post!