नयाँ मन्त्री फेरिएपछि १० सचिवको सरुवा, पर्यटनमा आए एकनारायण, भौतिकमा रवीन्द्रनाथ श्रेष्ठ आए

काठमाडौं। मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारले १० सचिवको जिम्मेवार हेरफेर गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको एक मन्त्रीले जानकारी दिए।

तर, नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयमा एकमात्र सचिव हेरफेर गरिएको छ। अन्य मन्त्रालयमा चलाइएको छैन। नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेको शहरी विकास मन्त्रालयमा रमेशप्रसाद सिंहलाई सचिवको जिम्मेवारी दिइएको छ। सिंहले यसअघि पनि उक्त मन्त्रालयमा काम गरिसकेका छन्। ऊर्जा आयोगको सचिवालयमा कार्यरत उनलाई शहरी विकासमा सरुवा गरिएको हो। शहरी विकासका मधुसुदन अधिकारीलाई सिँचाइ सचिवमा सरुवा गरिएको छ। 

यस्तै यादवप्रसाद कोइरालालाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी दिइएको छ। स्वास्थ्य मन्त्रालयमा विवादमा परेपछि कोइरालालाई केही महिनाअघि प्रधानमन्त्री कार्यालय पुर्‍याइएको थियो। संघीय मामिलाका सूर्य गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, प्रधानमन्त्री कार्यालयका केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका खगराज बराललाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। कार्कीले यसअघि पनि आयोगमा काम गरिसकेका छन्। भौतिक पूर्वाधारमा रवीन्द्रनाथ श्रेष्ठलाई ल्याइएको छ। उनी सिँचाइ सचिवका रूपमा कार्यरत थिए।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा गरिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।

Source: bizmandu.com

You can share this post!