प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डाक्टर केसीसँग कुरा नगर्ने? कात्रो पठाउने तयारी हो?

असोज २१, काठमाण्प्रडौ ।मुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टर केसी अनसन बसेको २४ दिन हुँदा पनि सरकारले वार्ता समिति गठन नगरेको बताएका हुन्।

प्रवक्ता शर्माले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले डाक्टर केसीको सत्याग्रहसमेत नसुनेको बताएका हुन्।

‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ?,’ शर्माको प्रश्न छ।

शर्माले कांग्रेसको पालामा डा. केसी अनसन बस्दा वार्ता गरिएको र कयौं माग पूरा गरिएको पनि उल्लेख गरेका छन्। 

‘चाहे सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत् उहाँका माग पूरा गरिए,’ उनले भनेका छन्, ‘तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका मागबारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन।’

सत्याग्रहीलाई दुर्व्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेको उनले बताए।

केसीको स्वास्थ्य अवस्था जटिल बनेको शर्माको भनाइ छ।

‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्।’

सेतोपाटीबाट

You can share this post!