वाग्मती किनारमा गुर्जाे राेप्न सुरू

काठमाडाै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ। गुर्जोरोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत बागमती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए।

आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका छन्‌। अधिकार सम्पन्न बागमतीको कार्यालयमा पनि उनले बिरुवा उपलब्ध गराएका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। 

राजलवटले नै उपलब्ध गराएका एक हजार गुर्जोको बिरुवा बागमतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ। बागमती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए।  सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उनले जानकारी दिए।

घरघरमा गुर्जोको बिरुवा पुर्‍याउने अभियानमा लागेका राजलवट आफूले ११ वर्षदेखि नियमित रुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँछन्‌। गुर्जोका नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए।  मधुमेह रोगबाट पीडित भएकाले नियमित रुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउँछन्‌।

गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ। विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउँछन्‌। गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ। डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ। आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन्।

You can share this post!