भक्तपुर । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ ।
बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”
यसवर्ष ९ सय युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ । प्रमुख मिश्रका अनुसार तत्कालका लागि तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ । ऋण लिनेले आगामी पाँच वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक पाँच हजारका दरले किस्ता तिरे पनि पाँच वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं। ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो । सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिने उहाँको भनाइ छ ।
त्यस्तै, नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु¥याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ ।
यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राको व्यक्तिगत खाता खोलिदिने भएको छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर १०० खातामा जम्मा गरिदिने छ । नगर प्रमुख मिश्रले भन्नुभयो, “नगरपालिकाले प्रत्येकवर्ष एक छात्राको खातामा चार हजार जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएको रकम छात्राले सामुदायिक विद्यालयबाटै माध्यमिक तह अर्थात् कक्षा १२ उतीर्ण गरेपछि मात्रै झिक्न पाउने छन् । यो कार्यक्रमले नगरक्षेत्रमा बालविवाह गर्ने र स्कुल छाड्ने छात्राको सङ्ख्यामा कमी ल्याउने विश्वास लिएका छौँ, यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ ।”
नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको विवाह हुने छैन । कक्षा १२ पछि छात्राले उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ । यसवर्ष यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न शुरु गरिने छ ।
source : janatasamachar.com