असोज दोस्रो हप्तादेखि परीक्षा सुरू गर्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय

धनगढी । सुदूरपश्चिमाञ्ल विश्वविद्यालयले अनलाइन माधयमबाट परीक्षा सञ्चालन गर्ने भएको छ। कोरोनाभाइरसका कारण प्रभावित भएका परीक्षा विश्वविद्यालयले असोज दोस्रो हप्तादेखि शुरू गर्ने भएको हो।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा कार्यतालिका सार्वजनिक समेत गरेको छ। विश्वविद्यालयले सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान विषयका पहिलो र तेस्रो शत्रको परीक्षा तालिक सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिका अनुसार खुला किताब अवधारणामा अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन हुनेछ। विश्वविद्यालयले विद्यार्थीलाई इमेलमा प्रश्नपत्र पठाउनेछ। प्रश्न पत्र पाएको पाँच घण्टाभित्र विद्यार्थीले उत्तरपुस्तिका इमेलमा पठाउनुपर्नेछ। चार घण्टा विद्यार्थीहरूलाई उत्तर लेख्नका लागि र एक घण्टा इमेलमा अपलोड गर्नका लागि छुट्याइएको सह-परीक्षा नियन्त्रक प्रेमसिंह भाटले बताए।

‘ए फोर साइज’को कागजमा विद्यार्थीले हातले लेखेर प्रष्ट देखिने गरि फोटो खिचेर वा स्क्यान गरेर इमेल गर्नुपर्नेछ। प्राविधिक कारणले इमेलमार्फत् प्रश्नपत्र बुझाउन नसक्ने अवस्था भएमा तोकिएको समयभित्र नजिकैको सम्बन्धित क्याम्पसमा पनि बुझाउन सकिने भाटले बताए।

उनले भने  “कतिपय अवस्थामा तत्काल इन्टरनेट अथवा प्रविधिले साथ नदिन सक्छ। त्यस्तो बेला सम्बन्धित क्याम्पसमा एक घन्टाभित्र पुग्न सकिने अवस्था भए बुझाउन सक्नेछन्।”

इन्टरनेटको सुविधा भएका विद्यार्थीहरूले घरवाटै वा आफूलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिन सक्नेछन्। विद्यार्थीले उत्तरपुस्तिका क्याम्पसमा बुझाएको अवस्थामा क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरि सक्नुपर्नेछ।

खुला पुस्तक परीक्षा प्रणाली अन्तर्गत परीक्षा हुने भएकोले यसपटकको प्रश्नहरू फरक शैलीको हुने परीक्षा सह-नियन्त्रक भाटको भनाइ छ । उनले भने “खुला पुस्तक प्रणालीबाट परीक्षा हुने भएकोले विद्यार्थीले मौलिक, विश्लेषणात्मक, सिर्जनात्मक लेख्नुपर्ने खालको प्रश्न बन्नेछन्।”

त्यस्तैगरी, नेपाल खुला विश्वविद्यालयले वैकल्पिक विधि अनुसार संचालन हुने सत्रान्त बाह्य परीक्षाको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ। यो भन्दा अघि ३ भदाैमा फाराम खुलाएको विश्वविद्यालयले २४ भदाैसम्म फारम भर्ने म्याद राखेको थियो। विशेष परिस्थितिको कारणले गर्दा यो म्याद ४ दिन थप गर्दै २८ भदाै सम्म बढाएको विश्वविद्यालयले सूचना जारी जानकारी दिएको छ। 

You can share this post!