पुल्चोकमा प्रहरीसँग झडपपछि पक्राउ परेका ६ जनालाई कोरोना

भदौ २२, २०७७ ललितपुर : ललितपुरको पुल्चोकमा गत बिहीबार जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरीसँग झडपमा उत्रिएर पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण भएको छ।  प्रहरीसँग झडप, वाटर क्यान तोडफोड र ट्राफिक प्रहरी कमल प्रसाद घिमिरेलाई कुटपिटमा संलग्‍न भइ पक्राउ परेका १९ जनामध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। हाल महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका उनीहरुको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी डिएसपी तथा प्रवक्ता सन्तोष तामाङले थाहाखबरलाई दिएका छन्। . पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना ‘हिरासतमा लिएर पिसिआर परीक्षण गराउँदा ६ जनामा कोरोना  देखिएको छ’, तामाङले भने, ‘पक्राउ परेकालाई मुद्दा अगाडि बढाउन अदालत लैजानका लागि स्वास्थ्य परीक्षण गराउने क्रममा उनीहरुलाई कोरोना देखिएको हो।’ यसअघि पुल्चोकको भीड नियन्त्रणमा खटिएकामध्ये १८ प्रहरीलाई पनि कोरोना देखिएको थियो। तर ललितपुर प्रहरी परिसरले कोरोना देखिएकाहरुलाई उक्त दिन पुल्चोकमा नखटाइएको बताउँदै आएको छ।  प्रहरीले पुल्चोकमा झडपमा उत्रिएकामध्ये १९ जनालाई हिरासतमा लिएको छ। जसमा केहीलाई रिहा गरिएको छ। प्रहरीले पत्रकारको पोशाक लगाएर प्रहरीलाई ढुंगा हान्‍ने इमाडोलका अनिश महर्जन र ललितपुरमा मेयरको घाँटी काट्ने धम्की दिने कुसुन्तीका सञ्‍जय शाक्यलाई पनि पक्राउ गरेको छ।  हाल हिरासतमा रहेकाहरुलाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद मागिसकिएको डिएसपी तामाङले जानकारी दिएका छन्।

source : thahakhabar.com

You can share this post!