प्रेमीको शव जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, १८ भाद्र । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे लक्का जवानको शवमा आगो दन्किरहेको थियो ।

शव जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको शव अल्झिएको छ । शव अल्झिएको सूचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको शव निकाल्न गए ।

खोलामा भेटिएको शव एक जना १७ वर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे । मोदी र पातीखोलाको संगममा जलिरहेको शव र मोदीखोलामा ढुंगाको अक्करमा अल्झेको शव दुई जना प्रेमी–प्रेमिका हुन् । जलिरहेको शव पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ वर्षीय पुष्प चापागाइको थियो भने खोलामा भेटिएको शव इलामको देउमाई नगरपालिका–५ घर भई मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएकी दीपिका बस्नेतको थियो ।

प्रहरीका अनुसार चापागाईं भदौ १४ गते आइतबार दिउँसो ४ बजेदेखि हराएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घरनजिकै जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । चापागाईंको शवको पर्वत अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । दीपिका पनि सोमबार दिउँसो ११ बजेपछि घरबाट हराएको भनेर आफन्तले प्रहरी खबर गरेका र खोला किनारमा समेत खोजी थालेका थिए । खोजी गर्ने क्रममा शव जलिरहेको केहीमाथि मोदीखोलामा उनको पनि श भेटिएको थियो । पुष्पले आत्महत्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हामफालेको हुन सक्ने अनुमान गरिएको छ । दुवैको घरबाट कुनै सुसाइनोट वा अन्य वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले बताउनुभयो । दुवै शवको पोस्र्टमाटम गरी आफन्तलाई बुझाएर थप अनुसन्धान अघि बढाइएको डीएसपी अधिकारीले जानकारी दिनुभयो ।

मृत भेटिएका पुष्प जननेत्र माविबाट कक्षा १२ को परीक्षा दिने तयारीमा थिए भने बस्नेतले भने यस वर्ष एसईई उत्तीर्ण गरेकी थिइन् । विद्यालयमा पनि उनीहरुको बीचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाइले दुवैले आत्महत्या गरेपछि मात्र यसबारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरुमध्ये छात्रा कक्षामा ४÷५ जना विद्यार्थीमध्ये पर्थिन् भने छात्र पुष्प पनि पढाइमा राम्रै थिए ।

‘विद्यालयमा उनीहरुको बीचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिएन,’ उहाँले भन्नुभयो– ‘प्रेम थियो भने पनि पारिवारिकरुपमा विवाह गर्नलाई अवरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट विवाहका लागि अस्वीकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।

उनीहरुले किन यस्तो अप्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चर्य मानेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृदयविदारक घटनाले धेरैको मनमा शंका उब्जाइदिएको छ, यस्तो निर्णय नलिएको भए हुन्थ्यो । सबै भन्दै थिए– ‘सँगै जिउने र मर्ने कसम खाएका प्रेमीप्रेमिकाले आवेगमा यस्ता गलत निर्णय गर्दा आफन्त र परिवारमा गहिरो चोट पर्न जान्छ भन्ने सोच्दैनन्, गलत बाटो रोज्छन् ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

source : reportersnepal.com

You can share this post!