उपत्यकामा निषेधाज्ञाबारे साँझसम्म निर्णय, मोडालिटी गृहमा

भदौ १७, २०७७ काठमाडौं : काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ। गृह मन्त्रालयको सुझाव र निर्देशनमा थप केही दिन निषेधाज्ञा कायम हुने सम्भावना छ। निषेधाज्ञाको विषयमा साँझसम्म निर्णय हुने भएको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढेपछि निषेधाज्ञा गरिएको थियो।  मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहलाई पठाइसकेको छ। ‘साँझसम्म निषेधाज्ञाको विषयमा निर्णय गरिन्छ, मोडालिटीमा विषयमा केही छलफल भएको छ’, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए। करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको थियो। लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो। अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधन हरुलाई समेत संचालन गर्न दिने छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।

source : thahakhabar

You can share this post!