काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने तर यस्ताे हुने भयो मोडालिटी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ ।

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञालाई खुकुलो बनाउनेबारे छलफल भएको छ । तर, बुधबार राति सकिने निषेधाज्ञालाई फेरि एकसाता निरन्तरता दिने तयारी गरिएको छ ।

उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।

तीनवटै जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको मोडालिटी तय गरेको छ । उक्त मोडालिटीबारे बुधबार गृह मन्त्रालयका गृह सचिव महेश्वर न्यौपानेसँग छलफल हुने र त्यसपछि निषेधाज्ञाबारे निर्णय गरिनेछ ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै होम डेलिभरी, टेकअवे सेवा खुला, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहजीकरण गर्ने हालसम्म मोडालिटी बनेको छ ।

उपत्यकामा दैनिक कोरोना संक्रमण बढदै गइरहेको र भयावह स्वरुप लिन सक्ने भएकोले गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाको घोषण गरेका थिए । शुरुमा भदौ ९ गतेसम्म लागु गरिएको निषेधाज्ञ पुनः थपिएर १७ गतेसम्म लागु हुने निर्देशन प्रशासन कार्यालयले जारी गरेका थिए ।

source: kathmandupati.com

You can share this post!