एकीकृत क्वारेन्टाइन सञ्चालन

काठमाडौंँ, ८ भाद्र। वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौँं उपत्यकामा ९५० शैया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ ।

मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ । भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँं उपत्यका एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौँं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका उपत्यका हेर्ने अधिकारीलगायतको बैठकले ९५० शøयाको एकीकृत क्वारेन्टाइन तत्कालै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सामाखुशीमा रहेको राधा स्वामी व्यास केन्द्रमा यसअघि होल्डिङ सेन्टर सञ्चालन गरिएकोमा अब एकीकृत क्वारेन्टाइन सञ्चालन गर्न लागिएको हो । सो स्थानमा नेपाली सेनाले अहिले पनि सुरक्षा दिइरहेको छ । मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिनेछ । यो समितिले एकीकृत क्वारेन्टाइन प्रबन्ध तथा सञ्चालन काठमाडाँैं उपत्यकाका तीनवटै जिल्लाका जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीमार्फत सम्बन्धित स्थानीय तहको समन्वयमा गर्नुपर्ने छ ।

अब पहिचान हुने क्वारेन्टाइन स्थलको निर्माण, मर्मतलगायतका अत्यावश्यक कार्य सहरी विकास तथा भवन निर्माण विभागमार्फत गरिने छ भने सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने गरी जिम्मेवारी तोकिएको छ । क्वारेन्टाइन सञ्चालन गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने गराउने र काठमाडाँैं उपत्यकाका एकीकृत क्वारेन्टाइनको अनुगमन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहलाई उपलब्ध गराइने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ । File photo

source : reporters nepal

You can share this post!