अध्यक्ष पदबाट राजीनामा दिदै (प्रचण्ड)

काठमाण्डौ । सत्तारुढ नेकपा भित्रको विवाद नयां मोडमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मध्ये एक पद पनि नछोड्ने अडान लिएपछि उनलाई दवाव दिनको लागि आफूले अध्यक्षबाट राजिनामा दिने निर्णयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पुगेपछि नेकपा विवादले नाटकिय रुप लिने लगभग निश्चित भएको छ ।

स्रोतका अनुसार प्रचण्डले अन्तिम पटक आफ्नो तर्फबाट विवाद मिलाउन प्रयास गर्ने र त्यसमा संभव नभएमा आफूले राजिनामा दिने तयारीमा रहेको आफू निकटका नेताहरुलाई जानकारी गराएका छन् । त्यस विषयमा आजै आफू निकटका दोस्रो तहका नेताहरुको साथसाथै वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालसंग पनि छलफल गर्न सक्ने बताइएको छ ।

आफूले राजिनामा दिएपछि ओली माथि दवाव बढ्ने र उनले पनि कम्तिमा पार्टी अध्यक्षबाट राजिनामा दिने विश्वांसमा प्रचण्ड रहेको उनी निकटका नेताहरुको भनाइ छ । ओलीलाई मात्र होइन प्रचण्डलाई समेत पदलोलुपताको आरोप लागिरहेकोले त्यसलाई खण्डन गर्नको लागि राजिनामा दिएर त्यो आरोपको खण्डन गर्ने र ओलीमाथि नैतिक दवाव सृजना गराउने रणनीति रहेको एक जना नेताले जानकारी दिए ।

यसलाई प्रचण्ड पक्षिय नेताहरुले एक कदम पछि हटेर दुई कदम अघि बढ्ने लेनिनको रणनीतिक योजनासंग तुलना गरेका छन् । ‘त्यसो भयो भने नेकपामा दुवै अध्यक्षले राजिनामा दिएर तेस्रो व्यक्ति अध्यक्ष हुने संभावना पनि छ । दुई अध्यक्षको इगोले दुवै जनाले राजिनामा दिएर अर्काे व्यक्ति अध्यक्ष भएमा आश्चर्य नमाने हुन्छ’ उनले भने ।

यस बारेमा प्रचण्ड निकटकै नेताहरु पनि खुलेर बोल्न चाहिरहेका छन् । तर, प्रचण्ड निकट मानिएका र पछिल्लो समय पार्टी भित्रको विवाद मिलाउन सक्रिय रहेका नेता हरिबोल गजुरेलले भने पार्टी अध्यक्षबाट प्रचण्डले राजिनामा दिन लागेको कुरालाई पुष्टि गरेका छन् । विविसी नेपाली सेवालाई प्रतिकृया दिंदै गजुरेलले भनेका छन्–“मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ। पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि वहाँले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो ।

गजुरेलले ओलीलाई दुईवटै पदबाट हटाउन खोज्दा अहिलेको विवाद चर्केको बताउंदै दुईवटा नभएर एक व्यक्ति एक पदको अवधारणा अनुसार काम गरेको भए ओलीले पनि मान्ने संभावना रहेको बताएका छन् । ‘एक्कासी दुवै पदबाट हट भन्ने कुरा आउँदा त टकराव हुने नै भयो। नक्साको विषय अनि राष्ट्रियताको विषयमा देश एकजुट हुँदै गर्दा प्रधानमन्त्रीबाट हट भनेको कुरालाई त जनताले राम्रो मानेनन् नी ।’ गजुरेलको भनाइ छ ।

source : public news nepal

You can share this post!