अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने

सिड्नी — अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्ध सफल भएसँगै सम्पूर्ण नागरिकलाई निःशुल्क उपलब्ध गराउने बुधबार घोषणा गरेका हुन् । 

अन्तर्राष्ट्रिय औषधि कम्पनी अस्ट्राजेनेकासँग खोप उपलब्ध गराउने सहमति भएसँगै मरिसनको भनाइ सार्वजनिक भएको हो । उनका अनुसार २ करोड ५० लाख अस्ट्रेलियालीले उक्त खोप निःशुल्क लगाउन पाउनेछन् । 

मरिसनले बुधबार बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरिरहेको खोपको परीक्षण सफल भएमा अस्ट्रेलियामै उत्पादन गर्ने सहमतिसमेत भएको जनाए ।

‘यो खोप कोरोना भाइरसविरुद्ध उपयोगी सावित भएको खण्डमा हामी यहाँ उत्पादन गरेर वितरण गर्नेछौं र २ करोड ५० लाख जनतालाई निःशुल्क उपलब्ध गराउनेछौं,’ मरिसनले भनेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाले बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेकाले संयुक्त रूपमा गरिरहेको खोप परीक्षण तेस्रो चरणमा रहेको र उक्त खोप ल्याउने सबै तयारी पूरा भएको जनाएको छ ।

मरिसनले विशेष स्वास्थ्य अवस्थाबाहेक यो खोप देशभर अनिवार्य गरिनेसमेत जनाए । त्यसका लागि बेक्टन डिकिन्सन कम्पनीसँग खोपका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत सहमति गरिएको मरिसनको भनाइ छ । उनले आफ्नै देशमा समेत खोपको परीक्षण कार्यलाई निरन्तरता दिइनेसमेत जनाएका छन् ।

हाल अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ ।

यसका साथै प्रधानमन्त्री मरिसनले छिमेकी राष्ट्रहरूलाई समेत जतिसक्दो चाँडो खोप उपलब्ध गराइने जनाएका छन् । अस्ट्राजेनेकाले अन्य देशसँग समेत खोप उपलब्ध गराउने विषयमा सहमति गरिसकेको छ । उसले पहिलो चरणमा ३ अर्ब डोज खोप उत्पादन गर्नेसमेत जनाएको छ ।

अस्ट्रेलियामा यो खोप उपलब्ध हुने मितिबारे भने केही उल्लेख गरिएको छैन । तर परीक्षण सफल भएको खण्डमा सन् २०२१ को सुरुवातदेखि नै सबै अस्ट्रेलियालीले निःशुल्क रूपमा खोप लगाउन पाउने स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

पछिल्लो समयमा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देखिएको भाइरसको दोस्रो लहरका कारण जनजीवन प्रभावित छ । तर केही दिनयता दैनिक संक्रमणमा कमी आएपछि कडा रूपमा लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । हाल भिक्टोरियामा दैनिक करिब २ सयको हाराहारीमा नयाँ संक्रमित थपिइरहेको जनाइएको छ । अन्य राज्यहरूमा भने लामो समयदेखि नयाँ संक्रमित भेटिएका छैनन् ।

source : ekantipur

You can share this post!