विनोद चौधरीको ‘भीआईपी’ अड्डाले सार्दैन कोरोना ? मन्त्रीदेखि पुलिसका हाकिमको अखडा

काठमाण्डु – लकडाउन अन्त्यपछि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेकाले सरकारले पुनः होटल, रेस्टुरेन्ट बन्द गर्ने निर्णय गर्‍यो । साउन १५ गतेदेखि खुलेका रेस्टुरेन्टका कारण संक्रमण फैलिने खतरा देखेपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेस्टुरेन्ट गर्ने निर्णय गरेको थियो ।

सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘होटेल, रेस्टुराँ खोल्ने भनिएको थियो । अब होटेल र रेस्टुराँबाट तयार गरेको परिकार लैजाने सेवा टेक अवे मात्र दिने निर्णय भएको छ ।’

सरकारको निर्णयपछि प्रहरी सक्रिय भएर खुलेका कतिपय रेस्टुरेन्ट बन्द गराउने अभियानमा लागेको छ । बिहीबार मात्रै प्रहरीले राजधानीका विभिन्न क्षेत्रबाट रेस्टुरेन्ट खोलेका सञ्चालकलाई पक्राउ नै गर्‍यो ।

राजनीतिक पहुँच नभएका, प्रहरीका हाकिमलाई घुस खुवाउन नसक्ने रेस्टुरेन्ट सञ्चालकले कारवाहीको भागिदार भएपनि माथिसम्मै पहुँच भएकाहरूले खुलेआम रेस्टुरेन्ट चलाएका छन् । रेस्टुराँ र बार चलेका मात्रै छैनन्, त्यहाँ ग्राहक छन्, मन्त्री, सांसद र प्रहरीका हाकिमहरू नै ।

त्यस्तै मध्येको एक हो, चर्चित उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी नेतृत्वको चौधरी ग्रूपले ललितपुरको झम्सिखेलमा सञ्चालन गरेको भिभान्ता काठमाण्डु होटल । पाँचतारे भिभान्ता होटलले १० नम्बर तलामा निर्वाध रूपमा बार चलाइरहेको छ, त्यहाँ कोरोनाको कुनै डर र सतर्कता छैन ।

देशका ठूल्ठूला भीआईपी भेला हुने, गृह मन्त्रालयदेखि प्रहरीका हाकिमसम्म पहुँच भएका कारण भिभान्ता होटलको बारमाथि कुनै कारवाही भएको छैन । पहुँच नभएका र सडक किनारमा कारोबार गर्ने सामान्य रेस्टुरेन्ट सञ्चालक भने प्रहरी कारवाहीको निशानामा परेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भीभीआईपीको जमघट भए पनि स्वास्थ्य प्रोटोकल कार्यान्वयन नगर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बढी भिडभाड नगर्न र त्यस्तै गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

‘संक्रमण ऐन २०२० अनुसार यस्ता कानुन विपरित काम गर्नेलाई प्रहरीले कारबाही गर्छ’, एसएसपी राईले काठमाण्डुपाटीसँग कुरा गर्दै भने, ‘हामीले सपिङ मल, फाइभस्टार होटलहरु स्वास्थ्य प्रोटोकलअनुसार सञ्चालनमा छन् कि छैनन् भन्ने विषयमा फलो गरिरहेका छौं ।’

source : kathmandupati.com

You can share this post!