जसको कलाले धेरै लुप्त सम्पदा पुरानै अवस्थामा ठडिए

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटा दरबार क्षेत्रलाई राम्रोसँग नियाल्ने हो भने यसैमा लिच्छविकालदेखिको एउटा जीवन्त कला देख्न सकिन्छ । यही कला हेर्नका लागि धेरै पर्यटकहरू वर्षेनि नेपाल आउँछन् ।

काठका मूर्ति र टुँडाल हुन् या ढुंगामा कुँदिएका कला, एक से एक मनमोहक कलाकृति यही उपत्यकामा पाइन्छ ।

मध्यकालदेखि ठडिएका मूर्त सम्पदा बनाउन लगाउने शासक त सयौं वर्षसम्म जीवन्त रहन्छ, मन्दिरको डिजाइन बनाउने कलाकार पनि एउटा पुस्तासम्म भने पनि जीवित रहन्छ । तर यही कलालाई सयौं वर्ष जिउँदो बनाउने एक लुप्त कलाकारको कथा भने भिन्दै छ ।

प्राचीन मन्दिरमा जाँदा मन्दिरको चारै दिशाका टँुडालमा रतिरागका मूर्ति कला देख्न सकिन्छ । टुँडालमा कुँदिएका यस्ता कला कसरी तयार पारिन्छ होला ? कालीगढले काठ या ढुंगामा कसरी सिर्जना गर्छ त ?

यो जिज्ञासाको उत्तर भक्तपुरको नासः मन्दिरको सम्मुखमा रहेको नास आर्ट ग्यालरी पुगेपछि पाइन्छ । केन्द्रमा तीन दशकयता कुँदिएका काष्ठ र पाषाण -ढुंगा) का मूर्तिहरूको चित्र संग्रह पनि छ । यो केन्द्रका ती कलाकार हुन्, राजेन्द्र श्रेष्ठ ।

१० कक्षामा पुगेदेखि नै कलामा आकषिर्त भएका उनले लुप्त हुन लागेका धेरै सम्पदालाई पुनर्जीवन दिने काम गरेका छन् ।

उनका बुबा नृत्य विधामा दखल राख्थे, राजेन्द्र चित्रकलामा । घरमा आफूलाई मन लागेको पेसा अपनाउने छुट थियो ।

श्रेष्ठको कलाले जीवित बनाएका लुप्त सम्पदाहरू

रौतहटको मोहलापुरमा एउटा मन्दिरको उत्खनन् गर्ने काम सुरु भयो । वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रको नेतृत्वमा भएको उत्खनन्ले त्यो मन्दिर प्राचीन समयकै भएको पुष्टि गर्‍यो । त्यसपछि आवश्यक पर्‍यो त्यसलाई कागजमा उतार्ने कलाकार ।

मन्दिरको संरचना कस्तो थियो भन्न सक्ने कोही बाँकी थिएनन् । पछि प्राचीन कथा र प्राप्त सामग्रीको आधारमा श्रेष्ठले नै मन्दिरको चित्र कोरे । सोही स्वरूपमा अहिले मन्दिर बनेको छ ।

पाटन दरबार क्षेत्रको भाइदेवल मन्दिरको संरचना पनि कस्तो थियो भन्न सक्ने कोही भेटिएनन् । साहित्यिक स्रोतमा कताकतै मन्दिरको संरचना तीन तलाको छ भन्ने उल्लेख थियो । श्रेष्ठले किंवदन्ती र लिखित प्रमाणहरूको आधारमा तीनतले मन्दिरको चित्र कोरे । सोहीअनुसार अहिले त्यो मन्दिर बनाउने काम चलिरहेको छ ।

ललितपुरको भस्मेश्वर महादेव मन्दिर पनि श्रेष्ठकै चित्रको आधार बनेको हो । ललितपुरकै पाटन दरबारको गुरुयोजना अनुसार चित्र कोर्ने काम पनि उनैले गरेका हुन् । यसरी हराइसकेका मन्दिरमात्र नभएर जीर्ण मन्दिरको पनि डिजाइन कन्सेप्ट तयार पार्ने काम धेरै गरेको उनी बताउँछन् ।

यता हनुमानढोकाको लक्ष्मीनारायण मन्दिर नयाँ रूपमा बनाइएको थियो । पुरानो फोटोको आधारमा कालभैरवको पछाडिपटि्ट रहेको सो मन्दिरलाई समेत पुरानै शैलीमा पुनर्निर्माण गर्नका लागि श्रेष्ठले नै डिजाइन तयार पारेका थिए ।

भूकम्पका कारण भत्किएको काठमाडौं त्रिपुरेश्वरको मन्दिर पुनर्निमाणका लागि एउटा अवधारणा तयार पारिएको छ । त्यसमा इन्जिनियरले सतहको डिजाइन तयार पारेपछि त्यसमाथि बनाउने मन्दिर र पाटीपौवाको नक्सा कोर्ने जिम्मा श्रेष्ठलाई नै दिइएको थियो । उनले सो मन्दिर क्षेत्रको डिजाइनमा पनि अहिले चित्ररूपी संरचना तयार पारिसकेका छन् ।

चित्र बनाएरै गुजारा

झट्ट हेर्दा चित्र बनाएर गुजारा कसरी चल्छ होला भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । श्रेष्ठसँग पनि पहिले धेरैले यस्तै जिज्ञासा राख्थे, उनी ‘चलिरहेकै छ’ भनेर टारिदिन्थे । अहिले उनको परिवारलाई पाल्ने चित्रकलाको अनुभव सुन्न आउँछन् । उनी भन्छन् ‘भूकम्पपछि यो घर (भक्तपुरमा रहेको पाँचतले घर देखाउँदै) मैले यही चित्रकला बेचेर नै बनाएको हुँ । गुजारा त चल्दो रहेछ नि ।’

शुक्रसागरको त्यो उत्प्रेरणा

चित्रकलाकै क्रममा राजेन्द्रको भेट पुरातत्वविद् शुक्रसागर श्रेष्ठसँग भयो । त्यतिबेलासम्म राजेन्द्रसँग पुरातत्वबारे कुनै ज्ञानै थिएन । एकैपटक शुक्रसागर जस्ता व्यक्तिसँग काम गर्ने मौका पाएपछि उनी पुरातात्विक सम्पदाको चित्र कोर्न उत्प्रेरित भए ।

शुक्रसागरले राजेन्द्रलाई विभिन्न मन्दिरमा रहेका टुँडाललाई चित्रमा उतारेर एउटा पुस्तक तयार पार्न सुझाव दिएका थिए । त्यसमा लेख्नुपर्ने क्याप्सन आफूले लेख्ने र चित्रमा राजेन्द्रले काम गर्ने शुक्रसागरको प्रस्ताव थियो ।

सोही सुझावअनुसार राजेन्द्रले काम सुरु गरे । काम चल्दै गर्दा बीचैमा शुक्रसागरको देहावसान भयो । राजेन्द्र भन्छन् ‘उहाँ -शुक्रसागर) जस्तो क्याप्सन लेख्ने मान्छे कोही भेटिएन । त्यही भएर अहिले पुस्तक तयार पार्ने काम रोकिएको छ ।’

कति पर्छ फोटोको मूल्य ?

उनी व्यापारको शैली नै त्यही भएकोले मान्छे अनुसारको मूल्य हुने बताउँछन् । यद्यपि, तुलनात्मक रूपमा हातले कुँदिएको चित्रकला केही महँगो हुने गर्छ । तर चित्रकारको परिश्रमअनुसार त्यसलाई मूल्य हेरेर मात्रै महँगो भन्न नहुने तर्क राजेन्द्रको छ ।

उनी एउटा मन्दिर वा कुनै मन्दिर परिसरको चित्र बनाउन तीनदेखि चारदिनसम्म लगाउँछन् । त्यसमा उनले कला र विषयवस्तुको आधारमा २५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । पर्यटक आउँदा मान्छेअनुसारको मूल्य बताउँछन् ।

क्यानभासमा बनाइने चित्रले सोही मन्दिरमा पुगेर गरेको दर्शनको आभास दिन्छ । जुन कुरा फोटोले बोल्न सक्दैन, त्यही कुरा चित्रमा बोलाउने कोसिस गर्छन्, राजेन्द्र ।

३६ सालदेखि निरन्तर चित्रकारितामा

नृत्येश्वर मन्दिरको नामबाट राखिएको ‘नासः’ शब्दले ‘इज्जतदार मान्छे’ लाई बुझाउँछ । उनले चित्र बनाउन सुरु गरेको २०३६ सालदेखि हो । दत्तात्रय मन्दिरको पछाडिपटि्ट भित्तामा एउटा कलात्मक भित्तेचित्र देख्न सकिन्छ । यो २०४३ सालमा राजेन्द्रले बनाएको चित्र हो ।

त्यतिबेला उनले भक्तपुरकै अरनिको आर्ट केन्द्रमा चित्रकलाबारे तालिम लिए । त्यतिबेला उनीसँगै १४ जना थिए तर त्यसमध्ये अहिले दुई जनाले मात्रै सांस्कृतिक क्षेत्रमा चित्रकलामार्फत योगदान दिँदै आएका छन् ।

दत्तात्रेयको चित्रलाई धेरैले मन पराएपछि व्यावसायिक चित्रकलामा आफू झनै उत्साहित भएको राजेन्द्र बताउँछन् । त्यसभन्दा पहिले नै साथीहरूसँगै मिलेर राजेन्द्रले ‘लायकु आर्ट ग्यालरी’ खोलेका थिए । सम्पदाको चित्र कोर्ने राजेन्द्रको एउटा छुट्टै विधा हो, जुन ल्याण्डस्केप, पोट्रेट विधाभन्दा केही भिन्न छ । तर राजेन्द्रको दखल धेरै सम्पदा र प्राचीन धरोहरको चित्र कोर्नमा भए पनि उनले ल्याण्डस्केप र पोट्रेट चित्रकलामा समेत आफ्नो प्रतिभा देखाउने गरेका छन् ।


source : onlinekhabar

You can share this post!