ओलीलाई प्रचण्डको प्रस्ताव : आ-आफ्नो मत लिएर केन्द्रीय कमिटीमा जाऔैं

१७ साउन, काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र तपाई हामी सबै मिलेर ल्यायौं । यो भर्खरको बच्चा छ र त्यसलाई स्याहार्ने जिम्मा चाहिँ, जसलाई यो मन परेकै थिएन, उहाँ (केपी ओली)को जिम्मामा परेको छ । उहाँ यो बच्चा (गणतन्त्र)लाई चिमोट्नुहुन्छ । हामी त आमा भयौं, आफैंलाई चिमोटे जस्तो मुटुमा च्वास्स हुन्छ । ए नचिमोट् न भन्दा बढ्ता कुरा गर्ने हो ? अठ्याइदिन्छु भन्छ । अझ बढी अठ्याउन थाल्छ । किन अठ्याएको भन्यो भने मारिदिन्छु भन्छ । अनि हामीले ‘होइन होइन, मार्न चाहिँ नमार्नुस् । बरु हामीले के-के गर्नुपर्छ भन्नुस्’ भन्नु पर्ने जस्तै बडो विडम्बनाको अवस्था छ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग चलिरहेको संघर्ष बुझाउन बन्द कोठाको एउटा भेटघाटमा माथिको लाइन सुनाएका हुन् । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टी फुटाउन एकपछि अर्को प्रयास गर्दै आएका छन् ।

तर आफूहरुले त्यसलाई रोक्न अनेक प्रयास गर्दैर् उनको दावी छ । शनिबार आफूलाई भेट्न आएका ताप्लेजुङ जिल्ला कमिटीका नेताहरुसँगको भेटमा पनि प्रचण्डले विचार, विधि, पद्धती अनुसार चलाउन ‘चर्को बहस’ भइरहेको बताए ।

एक नेताका अनुसार प्रचण्डले ओलीसँग चलिरहेको संघर्षलाई यसरी सुत्रबद्ध रुपमा सुनाएका थिए ।

– केपी ओली पार्टी वा कमिटी भनेको खास केही होइन, लिडरसिप अर्थात म नै सबथोक हुँ भन्ने भन्ने सोच्छन् । र, यो व्यक्तिवादी प्रवृत्तिविरुद्ध पार्टीमा संघर्ष चलिरहेको छ ।

– पार्टीले सरकारको नेतृत्व गर्ने कि सरकारले पार्टीको भन्ने गम्भीर मुद्दा बनेको छ । हामी पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनिरहेका छौं । तर पार्टीमा अर्को प्रवृत्ति छ, पार्टी केही होइन, सत्ता सबथोक हो र, सत्ताले नै पार्टी चलाउँछ ।

– पार्टी एकता गर्दा पूर्व नकेपा एमाले र माओवादी केन्द्र विघटन गरेर नेकपा बनायौं । हामी अध्यक्ष र पदाधिकारीहरुले पनि नेकपाको केन्द्रीय कमिटीले बनाएको हो । अहिले पनि ‘म त महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ’ भन्ने अधिकार हामीलाई छैन । यसमा पनि पार्टीमा विवाद-बहस चलिरहेकै छ ।

– राष्ट्रिय स्वाधिनताको मुद्दा पनि छ । जस्तो, एमसीसीको मुद्दा अन्तराष्ट्रिय शक्ति केन्द्रका अगाडि समपर्ण कि राष्ट्रिय स्वाधिनता कायम राखेर अगाडि बढ्ने भन्ने बहस छ ।

-पार्टीमा कमरेडली सम्बन्ध हुने कि बुबा-छोराछोरीको जस्तो हुने भन्ने पनि छ । पार्टीमा समानताका आधारमा हुनुपर्छ । तर एउटा बुबा, अरु छोराछोरी जस्तो सम्बन्ध बनायो भने यसमा सामन्ती निरंकुश संस्कारको गन्ध आउँछ ।

प्रचण्डले पार्टीमा विचार, राजनीति, संगठन सबै विषयमा प्रवृत्तिगत संघर्ष चलिरहेको बताएका छन् । पार्टीमा एउटाका विरुद्ध अर्कोलाई लडाउने, हरेकलाई प्रलोभन देखाउने कि खुला पारदर्शी छलफल भन्ने पनि बहस रहेको उनले बताए ।

आफूहरु सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीमा अडेको तर पार्टीमा बैठक राख्न नै गाह्रो हुने गरेको सुनाए । उनले भने, ‘बैठक भनेपछि उहाँलाई टाउको दुख्छ । हामीलाई भने बैठक भनेपछि बहस छलफल हुन्छ, साथीहरुले आफ्ना कुरा राख्छन् र एउटा निष्कर्षमा पुग्न पाइन्छ भनेर रमाइलो लाग्छ ।’

१० असारबाट सुरु भएको स्थायी कमिटी बैठक पनि निकै मुस्किलले राखेको तर अर्का अध्यक्ष ओलीले सहभगिताका लागि खासै रुची नै नदेखाएको बताए । दोस्रो दिन बैठकमा नआएका ओली तेस्रो दिन केहीबेर आएर फर्किएको र १४ गते मदन जयन्तीको दिन बैठक नराख्न आग्रह गरेको उनले सुनाए ।

त्यसअनुसार बैठक रोकेकै दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूहरुलाई ‘सरप्राइज’ दिएको उनले बताए ।

एउटाः नेकपा एमाले दर्ता । दोस्रो, भारतले सरकार ढाल्न खोज्यो र नेपालकै नेताहरु पनि लागेका छन् भन्दै आफ्नो विरोध गर्नेहरु सबै भारतीय दलाल हुन् भन्ने सन्देश दिनु ।

भेटमा सहभागी नेताहरुका अनुसार अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सा कसरी जारी भयो भन्ने सुनाएका थिए । सरकारको नीति तथा कार्यक्रममा नभएको तर सचिवालयका सबै नेताको जोडबलमा अन्तिम समयमा थपिएको भन्दै उनले भने, ‘अहिले त्यही नक्सामा राजनीति गरेर कोही महान राष्ट्रवादी, नक्सा छाप्न लगातार दबाब दिनेहरु चाहिँ दलाल भनेर देशभर जुलुस निकाल्न लगाउनुभयो ।’

प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले नेकपा फुटाउने प्रयास गर्दै आएको प्रचण्डको आरोप छ ।

‘बैठक चलिरहेको छ । ल अब संसद भंग गर्ने रे, संकटकाल लगाउने रे, झण्डै-झण्डै फाइनल हुन लाग्यो है ! भने जस्तो सूचना आउँछ । अनि हामी पो डराएर छल्दै हिड्नु परेको छ’ उनले भने, ‘गल्ती उहाँले गर्नु भएको छ । तर हामी पो डराएर दिनदिनै बालुवाटार गएर ‘लौ न प्रभु ! दुर्घटना त गरिदिनु भएन’ भनेको जस्तो गर्नुपर्ने बडो विडम्बनाको अवस्था पार्टीमा देखिएको छ ।’

अघि भने, ‘किनकी मध्यावधिमा गयो भने कता जान्छ कता ? अन्धकारको सुरुङमा पस्छौं ।’

यद्यपि पार्टीलाई फुटबाट जोगाउन निरन्तर प्रयास गरेकाले फुटिहाल्छ भन्ने पनि नरहेको बताए । पार्टी फुट्न नदिने र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीको कार्यशैली र प्रवृत्तिमा पनि सुधार ल्याउने उपायको खोजी भइरहेको उनले बताए ।

भए सहमति, नभए आफ्नो मत राखौं

प्रचण्डले बिहीबार पार्टी महासचिव विष्णु पौडेललाई बोलाएर निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्ने प्रस्ताव अर्का अध्यक्षसम्म पुर्‍याउन पठाएका थिए । ‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

त्यसमा ओली सकारात्मक देखिएनन् । स्रोतका अनुसार विकल्पमा प्रचण्डले विधिमा सहमति गर्ने प्रस्ताव राखेका छन् । यसो गर्दा सहमति भए सहमतिको, नभए आ-आफ्नो मत लिएर दुबै अध्यक्ष पार्टी केन्द्रीय कमिटीमा जाने र बहुमतले पास गर्ने । त्यसपछि महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव छ ।

यसबारे हुने छलफलमा एक्लै नबस्ने भन्दै प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेललाई राख्नुपर्ने बताएका छन् । यसअनुसार शनिबार भेट्ने भनिएको थियो । तर, चार नेताको बैठक नबसेको स्रोतले बताएको छ ।

source : onlinekhabar

You can share this post!