संसदीय समितिले सरकारलाई सोध्यो-फोरजी सेवा विस्तारमा किन ढिलाइ ?

१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न निर्देशन दिएको हो ।

गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन । टेलिकमले विभिन्न बाहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दाानी र नाफा पनि घट्न पुगेको छ । टेलिकमले आक्रामक रुपमा फोरजी विस्तार नगर्दा निजी सेवा प्रदायकले लाभ उठाइरहेका छन् ।

समितिले नेपाल टेलिकमले एक वर्षमा कति सिमकार्ड वितरण भयो भन्ने विवरण पनि मागेको छ । समितिले ३० दिनभित्र देशभर इन्टरनेट सेवा पुर्‍याउने सम्बन्धी कार्ययोजना पनि पशे गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिमा बोल्दै सञ्चारमन्त्री डा. खतिवडाले देशभर इन्टरनेट पुर्‍याउने गरी सरकारले काम गरिरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको बताए । सबै ठाउँमा विद्युत सेवा नपुगेका कारण पनि इन्टरनेट सेवा पुर्‍याउन असहजता आएको उनले बताए ।

समितिले नेपाल टेलिकमका व्यवसायिक साझेदार भित्र्याउनेबारे भउको अध्ययन र मापदण्ड पनि पेश गर्न टेलिकमलाई भनेको छ । सञ्चारमन्त्री खतिवडाले टेलिकमको सेवाको स्तर सुधार्न र कम्पनीलाई थप व्यवसायिक रुपमा अघि बढाउन रणनीतिक साझेदार भित्र्याउन आवश्यक रहेको बताएका छन् ।

source : onlinekhabar

You can share this post!