१५ असार, काठमाडौं । अवस्था सामान्य रहेको भए यो वर्षको सुरुमै तीनवटा ठूलो मूर्ति कार्यशाला हुने थिए, जसमा राष्ट्रिय ख्यातिका कलाकारदेखि नव कलाकारहरु सँगै बसेर मूर्ति बनाउँथे ।
कोभिड- १९ नियन्त्रणका लागि गत ११ चैतमा लकडाउन भएपछि अन्य क्षेत्रको जस्तै मूर्तिकलाका पनि निर्धारित कार्यक्रमहरु रोकिए । नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामाका अनुसार यो वर्षका लागि पूर्वनिर्धारित आधा दर्जन कार्यक्रम त कार्यशालाका थिए ।
एकेडेमीका कार्यक्रमहरु रोकिए पनि धेरै मूर्तिकारले लकडाउन अवधिलाई उर्वर बनाए । यो उकुसमुकुसको अवधिलाई धेरैले व्यक्तिगत सिर्जनशीलता बढाउने समय बनाएको लामाको बुझाइ छ ।
मूर्ति बनाउन धेरै किसिमको सामग्री र कच्चा पदार्थ चाहिन्छ । एउटा हथौडा नै बिग्रियो भने अर्कै ठाउँ गएर बनाउन वा किन्नपर्छ । लकडाउनले गर्दा अन्य कच्चा पदार्थ किन्न पनि समस्या भयो । यस्तो अप्ठेरो-अभाव झेलेर पनि धरै कलाकारले मूर्ति बनाए, कुँदे ।
गृहजिल्ला गुल्मी पुगेलगत्तै लकडाउनमा परेका ललितकलाका प्राध्यापक भुवन थापाले गाउँमै डोकोलाई विभिन्न आकार दिएर बनाएका ३५ थान कलाकृति भर्चुअल रुपमा सार्वजनिक गरे । त्यसले आफूलाई शारीरिक-मानसिकरुपमा चंगा राख्नुको साथै आफ्नो सत्यवती गाउँपालिकाको पर्यटकीय स्थलहरु चिनाउन मद्दत गरेको उनी बताउँछन् ।
लकडाउनअघि राजधानीमा पाएका ‘एसाइन्मेन्ट’हरु पुरा गर्न भने प्रा. थापाले पाएनन् । यो समस्या सबै मूर्तिकारले झेले । कच्चा सामग्रीको अभावमा भनेजति मूर्ति बनाउन नसक्दा कतिपय ग्राहकले अर्डर फिर्ता लिए । त्यसले कलाकारहरुको आर्थिक स्रोतमा सिधा पारेको छ ।
मूर्तिकलाका अर्का प्राध्यापक विष्णु श्रेष्ठलाई लकडाउनले इलाममा रोक्यो । काठमाडौंमा बिहानदेखि बेलुकासम्म कामको चटारोमा रहने उनले इलामै पाँच थान मूर्ति बनाए ।
उनका अनुसार, लकडाउनले सृजनात्मक हुने अवसर दिए पनि मूर्ति बनाएरै उपार्जन गर्नुपर्ने कलाकारहरुलाई भने सताएको छ । ‘फेरी अब कम मूर्ति बिक्री हुने वा अर्डर नै नआउने अवस्थाले समस्या थप्ने देखिन्छ ।’
आर्थिक अप्ठ्यारामा मूर्तिकार
चितवन माडीका दिनेश्वर महतो व्यवसायिक मूर्ति तथा चित्र बनाउँछन् । लकडाउनका बेला आवश्यक सामग्री जुटाउनै नपाएको उनी बताउँछन् । माडीकै सोमेश्वरगढीमा अजंगका ढुंगा कुँदेर कैयौं मूर्ति बनाएका उनी लकडाउनको बेला घरभित्रै बस्नुपर्दा केहि न केहि सिर्जना गरेपनि व्यावसायीक काम नभएको महतोले बताए ।
चैतमा लकडाउन हुँदा काठमाडौंका कलाकार अगम श्रेष्ठसँग वाक्स (मैन) मात्र थियो, जसबाट उनले दुईवटा मूर्ति बनाए । कच्चा पदार्थको अभावका कारण उनले करिब चार महिनासम्म माटो, फलाम र आल्मुनियमका मूर्ति बनाउन चाहेर पनि सकेनन् ।
‘पेन्टिङमा रंग र क्यानभास भए पुग्छ, तर मूर्तिकलामा कच्चा पदार्थबिना केही काम हुँदैन’, अगम भन्छन्, ‘लकडाउनमा कच्चा पदार्थ खोज्दै हिड्न सम्भव नै भएन ।’
उनका अनुसार, आधुनिक मूर्तिकलामा बौद्धिकता र सृजनाको समीश्रण हुन्छ । आवश्यक सामग्री जुटाएर गर्नुपर्ने यो काम कलाको जटिल विधा भएकाले पारखीहरुले मात्र मूर्ति किन्छन् । त्यसमाथि प्रदर्शनी नै हुन नपाउँदा बिक्रिको सम्भावना सकिन्छ । अर्थात्, कोरोना बिरुद्वको लकडाउनेले खाली हात नबसेका कलाकारहरुलाई समेत गम्भिर समस्यामा पारिदिएको छ ।
भक्तपुर दरबार परिशरका मूर्ति र हस्तकलाका सामान व्यापारी चुडामणी कायस्थको अवस्थाले अहिले कलाको बजार कस्तो छ भन्ने देखाउँछ । उनले पसल बन्द गरेको चार महिना पुरा भयो । अझै कति महिना भक्तपुरमा विदेशी पर्यटक नआउने हुन्, थाह छैन ।
ललित कलाका प्राध्यापक गंगाधर सारू कोरोना भाइरसले मूर्तिकलामा दीर्घकालीन असर पारेको बताउँछन् । लकडाउनमा बनाइएका मूर्तिहरु कलाको दृष्टिले उच्च कोटीको भए पनि भोलि बिक्री हुने-नहुने टुङ्गो नभएको उनी बताउँछन् ।
लकडाउनले कतिपय कलाकारलाई पूर्णरुपमा निस्कृय बस्न बाध्य पारी दियो । यसको उदाहरण लक्ष्मण भुजेल हुन् । उनको बसाइ कीर्तिपुर र स्टुडियो डिल्लीबजारमा छ । उनी भन्छन्, ‘सबै सामान डिल्लीबजारमा भएकाले लकडाउनभरि जति छट्पट भएपनि एउटा मूर्ति बनाउँन सकिन ।’
जबकि, लकडाउन अगाडी उनको हातभर कामैकाम थियो । पुसमा मात्र उनी, भुवन थापा र राजु पिठाकोटे प्राध्यापक गंगाधर शारूसंग मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मूर्ति कार्यशालामा सहभागी भएर फर्केका थिए । त्यसयता सबै काममा व्यस्त थिए ।
‘एक त चार महिना बिना काम छट्पटाएर बस्नु पर्यो,’ भुजेल भन्छन्- ‘अब मूर्तिकलामा अर्डर नै निकै कम हुन्छ । अगाडि बनाएका मूर्तिहरु बिक्रीमा राखेर फाइदा छैन ।’
source : onlinekhabar