कोभिडपछि पर्यटन क्षेत्र उकास्न कस्सिए व्यवसायी: सामूहिक रुपमा आकर्षक प्याकेज ल्याउँदै

काठमाडौं। पर्यटन क्षेत्र खुला गरिएसँगै विभिन्न पर्यटनसँग सम्वन्धित संस्थाले सामूहिक रुपमा आकर्षक प्याकेज ल्याउने भएका छन्।

समग्र पर्यटन क्षेत्रमा आवद्ध संगठनको सामूहिक छलफलका अनुसार मूल्य, स्वास्थ्य सुरक्षा लगायतलाई मध्यनजर गर्दै आकर्षक प्याकेज ल्याउने भएका हुन्।

‘लकडाउन भएको चार महिनापछि बिहीबार देखि होटल र रेष्टुरेण्ट संचालनमा आइसकेको छ। अब भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान पनि सुचारु हुन्छ। यी सँगै हवाई, ट्रेकिङ, ट्राभल, राफ्टिङ, माउन्टेनेरिङ लगायतका पर्यटन क्षेत्र संचालनमा  आउँछन्। तर पर्यटक स्वास्थ्य जाँच, आउजाउ गर्नका लागि सवारी साधनको परिचालनको विषयमा अझै निर्णय नभएकोले अन्योलनै छ,’ नेपाल टुर एण्ड ट्राभल एजेन्सी एशोसिएसनका अध्यक्ष अच्युत गुरागाईँले भने।

 पर्यटकको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थाको पूर्व तयारीमा ढिलाइ गरेको उनले बताए। विदेशी पर्यटकका लागि अनिवार्य एक साता क्वारेन्टाइन बस्नुपर्ने प्रावधानले उनीहरु निरुत्साहित हुने सम्भावना धेरै रहेको जिकीर गर्दै उनले भने,’ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रले स्वास्थ्य सुरक्षामा  कुनै पनि कम्प्रमाइज नगरी एसओपी बनाइसकेको छ। र , हामी तयार पनि छौँ। तर आउने पर्यटकलाई सात दिन क्वारेन्टाइनमा राखिने निर्णयले उनीहरु आउने सम्भावना कम देखिन्छ।’

केही समय अगाडी व्यवसायीले पर्यटकको स्वास्थ्य परिक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसीआर सेन्टर राख्न आग्रह गरेपनि सुनुवाई नभएको उनले बताए। ‘कतिपय मुलुकले पिसीआर सेन्टर सहयोग स्वरुप दिने कुरा आएको थियो। तर सरकारले सहयोग लिन नखोजेको देखियो,’ अध्यक्ष गुरागाईँले भने,’विदेशी पर्यटकको स्वास्थ्य परीक्षण हुन आवश्यक छ।  एकैदिनमा पिसीआर परीक्षणको नतिजा दिने व्यवस्था गरिनुपर्छ।’

सरकारको काठमाडौं अवतरण भएका पर्यटकलाई होटलमा राखेर सीमित अस्पतालमा पिसीआर परीक्षण गर्ने निर्णयले बसाईँ समयावधिमा प्रभाव पर्ने उनले बताए। ‘पिसीआर परीक्षणमै समय लगाइयो भने त पर्यटकले सोचेजस्तो समय फेबरेवल हुने देखिन्न। यसका लागि सरकारले एकै दिनमा पिसीआर परिक्षण रिपोर्ट तयार गर्ने व्यवस्था लागू गर्न आवश्यक देखिन्छ,’ उनले भने। 

पर्यटक सहजतालाई मध्यनजर गर्दै व्यवसायीले सरकारलाई हरियो प्लेट अंकित सवारीसाधन संचालन गर्न दिन अनुरोध गरेको गुरागाइँले बताए। बिहीबारदेखि मुलुकभर होटल तथा रेष्टुरेण्ट खुला भएपछि वाह्य मुलुकमा नेपालको पर्यटन क्षेत्र खुला भएको सुचना पुग्न थालेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए। ‘आजबाट मुलुकभरका होटल खुला भएको छ। विदेशी मुलुकमा नेपाल पर्यटन क्षेत्र खुला भएको जानकारी गएको छ। यो सुचनामार्फत चार महिनादेखि बन्द नेपालक पर्यटन क्षेत्र गतिशील बन्ने अपेक्षा गरेका छौं,’ वरिष्ठ उपाध्यक्ष शाहले भने।

Source: bizmandu.com

You can share this post!