प्रचण्डको ‘परिबन्द’ जनार्दन शर्मातिर सर्दा पूर्व माओवादीभित्र खैलाबैला

काठमाडौं – गत साउन ८ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले प्रेस नोट जारी गर्दै स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’बारे स्पष्ट पार्न खोजे ।

युवापंक्ति र नेकपाभित्र चर्चित नेताको छवि बनाएका शर्माको विषयमा प्रचण्डको सचिवालयले स्पष्ट पार्नुपर्ने अवस्था किन आयो ? के शर्मामा राजनीतिक विचलन उत्पन्न भएको थियो ? के कारण शर्मा पूर्व माओवादी समूहभित्र विवादमा तानिए ? यी प्रश्नको जवाफ खोज्नुअघि प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेखित कुरा हेरौं ।

प्रेस संयोजक सापकोटाद्वारा हस्ताक्षरित नोटमा लेखिएको छ –
“केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित\प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ ।
आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।

पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभावकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएको भ्रामक प्रचारहरू खारेज गर्दछौं ।

प्रचण्डको सचिवालयबाट विज्ञप्ति आउनुभन्दा ३ दिनअघि नेता शर्मा आफैंले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुस्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ विना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रस्ट पार्दछु ।’

नेकपाभित्र शीर्ष नेतृत्वबीच विवाद चलिरहेको बेला नेता शर्माबारे के दुस्प्रचार भयो र त्यसलाई पटक–पटक स्पष्ट पार्नुपर्ने भयो ? यो दुस्प्रचारको जरो अध्यक्ष प्रचण्ड परिबन्दमा परेको घटनासँग जोडिन्छ ।

प्रचण्डको परिबन्दको फन्दामा शर्मा

अध्यक्ष प्रचण्डले साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । त्यसलगत्तै सञ्चारमाध्यममा खबर आए – आगामी मंसिरमा नेकपाको महाधिवेशन गर्ने सहमति ओली–प्रचण्डबीच भयो ।

त्यति नै बेला प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरू छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

महाधिवेशनको हल्लालाई गंगाको स्टेटसले मात्रै चिर्न सकेन । अर्काे दिन साउन ४ गते बिहान प्रचण्ड निवास खुमलटारमा नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुषाल, रघुजी पन्त, भीम आचार्य, वर्षमान पुन, पम्फा भुसाल, मातृका यादव लगायतका नेता भेला भए ।

विभिन्न स्रोतलाई उदृत गर्दै आएका खबरमा प्रचण्डले आफू परिबन्दमा परेर शितलनिवास पुगेको बताएको उल्लेख छ । प्रचण्डको भनाइ उदृत गर्दै समाचारमा लेखिएको थियो, ‘बालुवाटारमा सचिवालय बैठक सकिनैलाग्दा महासचिवले प्रधानमन्त्रीजीले भेट्न खोज्नुभयो भनेर एसएमएस गर्नुभयो । म प्रधानमन्त्री निवासतिर लागे । त्यहाँबाट खुमलटार फर्किन खोजेको थिएँ । त्यही समयमा ओलीजीको फोन आयो ‘म शीतलनिवास आइसके, तपाईं पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गर्न खोज्नुभएको छ’ भन्नुभयो । त्यसपछि बाध्य भएर त्यहाँ गएँ । त्यहाँ महासचिव र प्रभाकरजी पनि हुनुहुँदो रहेछ । प्रभाकरजीले पनि मलाई भन्नुभएन । मलाई यसरी परिबन्धमा पारेर लगियो ।’

प्रचण्डको अभिव्यक्तिसँगै परिबन्दको फन्दामा जोडिए नेता जनार्दन शर्मा । समाचारहरू प्रचण्डको परिबन्दमै सीमित रहेनन्, ‘जनार्दन शर्मामा गृहमन्त्री हुने भूत चढेको, एकताको सूत्रधार भन्दै फाइदा लिन खोजेको’ लगायतका समाचार आए । प्रचण्डले खुमलटारमा व्यक्त गरेका कुरासँगै विवादमा तानिए जनार्दन शर्मा । त्यसपछि स्वयं शर्मा र प्रचण्डको सचिवालयले स्पष्ट पार्दै प्रेस नोट जारी गर्नुपर्ने भयो ।

प्रचण्डको ‘खास’ बन्ने लडाइँ

नेकपाभित्र प्रचण्डको नेतृत्वमा पूर्व माओवादी समूह सक्रिय छ । त्यसभित्र पनि विभिन्न उपगुट छन् । पूर्व माओवादीभित्र पूर्वमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री वर्षमान पुनबीच प्रचण्डको ‘खास’ बन्ने लडाइँ रहेको स्रोतले जनाएको छ । त्यही लडाइँमा जनार्दन शर्माविरुद्ध पूर्व माओवादीभित्र हल्ला फैलियो ।

नेकपाभित्रको विवादमा वार्ता, छलफल र समाधानका लागि प्रचण्डले आफ्नो तर्फबाट शर्मा र पुन दुवैलाई परिचालन गरेका छन् । शर्माले उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग निकट रहेर काम गर्छन् भने पुन ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट रहन्छन् । मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री ओलीको अत्यन्तै निकट मानिन्छन् । प्रचण्डले शर्मा र पुन दुवैलाई केही जिम्मेवारी दिएर परिचालन गरेका छन् । शर्मा र पुनलाई मात्र विश्वास गरेको भन्दै पूर्व माओवादी समुहभित्र ठुलो पंक्ति त्यसको विरुद्धमा छ ।

शर्मा र पुनलाई लगेर प्रचण्ड प्रधानमन्त्री ओलीसंग वार्तामा गएको दिन खुमलटारमा पूर्व माओवादी समुहमा त्यसको चर्को विरोध भएको थियो । विरोध गर्नेमा सचिवालय सदस्यरु रामबहादुर थापा,नारायणकाजी श्रेष्ठदेखि स्थायी समिति सदस्यहरु टोपबहादुर रायामाझी, देव गुरुङ, मणि थापा, पम्फा भुसाललगायत थिए । उनिहरुले दुवै नेतालाई बोकेर मात्र जांदा अरु वरिष्ठ नेताहरुलाई विश्वास नगरेजस्तो ठहर्ने भन्दै प्रचण्डलाई घेरेपछि उनले गल्ती सच्याउने र वार्ता एक्ला एक्लै गर्ने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको थियो ।

साउन ३ गते बालुवाटारमा ओली, प्रचण्ड, पौडेल र शर्माबीच भएको छलफलमा केही सहमति भएर मस्यौदा समेत तयार भएको थियो । स्रोतका अनुसार मंसिरमा एकता महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्षमा ओलीले सघाउने, आगामी फागुनमा सरकारलाई ३ वर्ष पूरा हुँदा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रचण्डलाई सत्ता सुम्पिने कुरा मस्यौदामा उल्लेख थियो ।

यही सहमतिबारे बताउन शितलनिवास पुग्दा त्यहाँ सरकार परिवर्तनबारे राष्ट्रपति भण्डारीलाई ओलीले जानकारी गराएनन् । बरु पार्टीको मार्गदर्शक सिद्धान्का रुपमा स्व. मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज) लाई स्वीकार गर्नुपर्ने शर्त राखियो । त्यसपछि प्रचण्ड चिढिए र हुनै लागेको सहमति भत्कियो ।

त्यसपछि चर्चामा आयो परिबन्दको कथा र फन्दामा परे जनार्दन शर्मा । आफूबारे भएको दुस्प्रचारलाई परास्त गर्न सुरूमा त शर्मा आफैंले कोसिस गरेका थिए । तर सहजै परास्त हुने नदेखेपछि शर्माले प्रचण्डमाथि दबाब बढाए । आफ्ना बारेमा फैलिएको दुस्प्रचारलाई चिर्न माग राखे । त्यसपछि प्रचण्डको सचिवालयबाट विज्ञप्ति जारी भएको थियो । प्रचण्डले आफुलाई आरोपित गरेपछि शर्मा भने असन्तुष्ट भनेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीविरुद्ध पछिल्लो समय कडा बनेका शर्मा नेकपाका अध्यक्ष प्रचण्डले खटाएको काममा अहोरात्र खटेका नेता हुन् । शर्मा र पुनलाई प्रचण्डले फरक फरक काममा खटाउने भएपनि दुवैलाई आफु सबैभन्दा नजिक रहेको भ्रम रहने गरेको छ ।

पछिल्लो समय प्रचण्डले भनेको भन्दै शर्माको बारेमा नकरात्मक समाचार आएसंगै उनि असन्तुष्ट छन् । त्यसपछि उनको प्रधानमन्त्री ओलीसंग समेत निरन्तर छलफल जारी रहेको स्रोत बताउंछ । उनले उद्योगमन्त्री लेखराज भट्टसंग समेत घनिभुत छलफल अघि बढाएका छन् । भट्ट पछिल्लो समय खुलेरै प्रधानमन्त्री ओलीको पक्षमा छन् ।

source : kathmandupati.com

You can share this post!