रञ्जन कोइराला प्रकरण : ‘सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो’

काठमाण्डाै ,८ श्रावण २०७७। श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्वडीआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ।  

सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै सजाय पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो। पूर्व डीआइजी कोइराला बिहीबार रिहा भएपछि गीता ढकालका बुवा हरेराम ढकालले यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए। मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पुरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताए। उनले भने, ‘मान्छेलाई मारेपनि हुने रहेछ भन्ने सन्देश गयो अब। के डर भयो र? जघन्य अपराधमा कानूनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने। यस्तो न्यायालयको त्रुटीले समाजमा राम्रो सन्देश जाँदैन।’’ सर्वश्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पुरा हुने भए किन २०, २५ वर्ष राख्नुपर्योल भन्दै उनले प्रश्न गरे।  

श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो। फेरी उनी सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन्।  

नागरिक न्यूजबाट 

You can share this post!