कम्युनिष्ट नेता बरमन बुढाको निधन

७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए ।

विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।

गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

source : onlinekhabar.com

You can share this post!