गुल्मीमा अधिकांश कोरोना संक्रमित डिस्चार्ज, आइसोलेसनमा ११ जना मात्रै

५ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल ११ जना मात्रै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ५० सम्म पुगेको थियो । धेरैजसो संक्रमित कोरोनामुक्त भएर घर फर्केको र हाल ११ जना मात्रै आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना संक्रमितमध्ये आइसोलेसनमा रहेकाहरुमा रेसुङ्गा नगरपालिकाका ४ जना, छत्रकोट गाउँपालिकाका ५ जना, कालीगण्डकी गाउँपालिकाका १ जना र १ जना महिला गरी ११ जना छन् । अन्य गाउँपालिकाका संक्रमितहरु कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ ।

गुल्मी जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । जिल्लाबाट १ हजार ९ सय ५० जनाको स्वाब संकलन गरेर पठाइएकोमा ८८ जनाको रिपोर्ट आउन बाँकी छ ।

source : onlinekhabar

You can share this post!