लामो दुरीका गाडी केही दिनमै सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले केही दिनमै सवारी साधनहरु खोल्ने तयारी गरिरहेका छन् । विगत ३ महिनादेखि ग्यारेजमै थन्किएका सवारी साधनहरु यस हप्ताभित्रै सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघले लामो दुरीका सवारीहरु पनि साधनहरु सञ्चालन गर्नका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर गाडी सञ्चालनका लागि गृहकार्य भइरहेको बताइएको छ । महासंघका महासचिव सरोज सिटौलाले केही दिनभित्रै गाडी सञ्चालन गर्ने बारे गृहकार्य भइरहेको बताए ।

उनले आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरी सवारी साधन सञ्चालन गर्ने सम्बन्धि छलफल भइरहेको उनको भनाई छ । ‘गाडी सञ्चालन बारे गठित कार्यदलले लामो दुरीका र छोटो दुरीका गाडीहरु सञ्चालन गर्ने बारे तयारी गरिहेको छ, केही दिनमै त्यसको बारेमा निश्कर्ष हुन्छ,’ उनले भने ।

‘हामीले विभागले तयार पारिरहेको स्वास्थ्य कार्यविधि बारे हाम्रो दुई पटक छलफल भइसकेको छ, विभागले कार्यविधिको कुरा टुङ्ग्याएपछि गाडि चल्छन्,’ उनले भने ।

आफुहरुको प्रमुख माग चालक सहचालकको स्वास्थ्य बीमा रहेको सिटौलाको भनाई छ । अहिले त्यसकै बारेमा व्यापक छलफल भइहरेको उनले बताए । आफुहरु पनि गाडी सञ्चालन गर्न सकारात्मक भएको उनले बताए ।

यातायात व्यवसायीहरुले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि मौद्रिक नीति मार्फत पनि केही राहतको माग गरेका थिए ।

मौद्रिक नीति मार्फत किस्ता र कर्जाको ब्याज तिर्ने समयावधि पनि सारिसकेको छ । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरिसेकेको छ । तर, यातायात व्यवसायीहरुले आफुहरुका माग पुरा नहुँदासम्म गाडी नचलाउने बताउँदै आएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले लामो दुरीका गाडी सञ्चालन बारे सरकारले निर्णयष् गर्ने भएपनि जिल्ला भित्रैका कतिपय गाडी सञ्चालन भइरहेको बताए । ‘अझै पनि हामी छलफलमै छौं, छिट्टै निश्कर्ष हुन्छ, चालक र सहचालकको बीमा सम्बन्धि कार्यविधिमा आउँदैन, त्यसको लागि सरकारले नै निर्णय गर्नुपर्छ,’ उनले भने ।

अहिले उपत्यकामा केही छुटपुट रुपमा मात्र गाडी चलिरहेका देखिन्छन् । अहिले यातायात व्यवसायीहरु सार्वजनिक यातायात कसरी चलाउने भनेर दैनिक छलफलमै व्यस्त छन । सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बैठक गरी तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको निर्णय गरेको थियो ।

लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्नेलगायत व्यवसायीका माग राखेका थिए ।

मौद्रिक नीति मार्फत पुर्नकर्जा र कर्जा तिर्ने समयावधि सानेए माग समाधान भइसकेका छन् भने अब चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्ने माग पुरा हुन बाँकी छ । त्यो माग पनि सरकारले बनाइरहेको कार्यविधि मार्फत समाधान हुने विश्वास उनीहरुको छ । सरकारले अविलम्ब छलफल गरेर अन्योलको वातावरण हटाउनुपर्ने यातायात उनीहरुको माग छ ।

Source:bikashnews.com

You can share this post!