बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी नियन्त्रणमा

३१ असार, पोखरा । बलात्कार आरोपमा सशत्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बुधबार दिउँसो पोखरामा पक्राउ परेका छन् ।

दिउँसो ३ बजे एक महिलाले जिल्‍ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा टेलिफोन गरी रूँदै एसएसपीले बलात्कार गरेको मौखिक उजुरी गरेकी थिइन् ।

त्यही उजुरीको आधारमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका प्रमुख एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

महिलाले टेलिफोन गरेपछि सुरुमा प्रहरी टोली महिला भएको ठाउँमा पुग्यो । महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाएर प्रहरी टोली लामापाटनस्थित नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा पुग्यो ।

तर कार्यालय र नास दुबै ठाउँमा भेटिएनन् । जिल्लाका डीएसपीको नेतृत्वमा खटिएको टोलीले अधिकारीलाई नभेटेपछि गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालको निर्देशनमा एसपी श्रेष्ठ आफैं लामापाटन पुगे ।

त्यतिन्जेलसम्म सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी कविन्द्रमान श्रेष्ठ पनि लामापाटनल पुगिसकेका थिए ।

प्रहरीले सोधखोज गर्दा अधिकारी कार्यालय हाताबाट बाहिर नगएको पत्ता लाग्यो । त्यसपछि खोजी गर्दा एसएसपी अधिकारी झाडीमा लुकिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

प्रहरी स्रोतका अनुसार ती महिला लामो समयदेखि चिनजान भएको मात्र नभई आफन्त नै हुन् । महिलालाई खाना खान बोलाएर बलात्कार गरेको आरोप अधिकारीमाथि छ ।

‘उनीहरू आफन्त नै रहेछन् । थप अनुसन्धान भइरहेको छ,’ एसपी श्रेष्ठले भने ।

अर्कै जिल्लामा रहेकी महिलालाई लकडाउनका बेला पोखरासम्म आउने प्रबन्ध एसएसपी अधिकारीले नै मिलाएका थिए । आवासमा खानासँगै लठ्याउने औषधी खुवाएर बलात्कार गरेको ती महिलाले बताएकी छन् ।

एसएसपी अधिकारी मंगलबारमात्र पोखराबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए ।

source : onlinekhabar.com

You can share this post!