प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार सञ्चालन गरे नेकपाको जनमत समाप्त हुन्छः झलनाथ खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार पाँच वर्षसम्म सञ्चालन भएमा नेकपाको जनमत समाप्त हुने चेतावनी दिएका छन् ।

सोमबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् ।

‘पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा रुट आउट हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ’, उनले भने ।

त्यस्तै उनले यो सरकारको जताततै विरोध बढेको उल्लेख गर्दै अहिले नै आधा जनमत खुम्चिसकेको बताएका छन् ।

‘प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ’, उनले भने ।

त्यस्तै नेता खनालले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् सहयोग लिने सम्झौता अघि बढाउँदा चीनको संशय बढेको बताएका छन् ।

‘एससीसी, एमसीसी भनेको छ । त्यसले चीनको संशय बढेको छ । एमसीसीको विषयमा उता अमेरिकासँग पनि राम्रोसँग कुरा गर्न सकिएको छैन,’ खनालले भने ।

सोमबारको कार्यक्रममा खनालले भारत र चीनसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका छन् ।

‘छिमेकी देशसँग सम्बन्ध सुमधुर राख्नुपर्छ, अन्य देशसँग पनि सम्बन्ध राम्रो बनाउनु पर्छ । असंलग्न नीति छाड्नु हुँदैन,’ नेता खनालले भने, ‘छिमेकीसँग सम्बन्ध बिगार्न थालियो भने ठूलो समस्या आउँछ ।’

source : kathmandupati

You can share this post!