पीसीसी सक्रिय बनाउने र सामूहिक निर्णय गर्ने नवनियुक्त प्रहरी महानिरीक्षकको संकेत

काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीमा सामुहिक निर्णय गर्ने प्रणालीको सुरुवात गर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नीतिगत निर्णय गर्दा सामुहिक निर्णय गर्ने जानकारी दिएका हुन् ।

महानिरीक्षक क्षेत्रीले विहिवार ‘पुलिस को अर्डिनेशन कमिटी’ पीसीसीलाई सक्रिय बनाउने बताएका छन् । उनले भनेका छन् ‘म यो खरिद,सरुवा बढुवामा धेरै लाग्दैन,क्षेत्रमा रहेका डिआईजी सापहरुलाई नै अधिकार दिनेतर्फ लाग्छु, म कहां यसका लागी आउनु पनि पर्दैन् । मेरो ध्यान नीति निर्माणमै बढी केन्द्रित हुन्छ ।’

नेपाल प्रहरीभित्र सामूहिक निर्णयको अभ्यास बसाल्नुपर्ने आवाज उठेपनि यसअघिका आईजीपीहरुले त्यसलाई बेवास्ता गर्दै आएका थिए । संगठन प्रमुखको जिम्मेवारी र दायित्व प्रहरी महानिरीक्षकमा निहित हुने भए पनि उसले गर्ने  नीतिगत निर्णयले सिंगो संगठन प्रभावित हुने भएकाले प्रहरीमा सामूहिक निर्णय हुनुपर्ने अधिकांश प्रहरी अधिकृतहरुको चाहना थियो ।

प्रहरीमा महानिरीक्षकको अध्यक्षतामा नीतिगत र महत्वपूर्ण निर्णयका लागि ‘पुलिस को–अर्डिनेशन कमिटी’ (पीसीसी) को स्थापना गरिएको छ । यसमा आवश्यकता अनुसार विभागीय प्रमुखदेखि महाशाखा र शाखा प्रमुखहरूसम्मका प्रहरी अधिकृत बसेर निर्णय गर्छन् । तर, यसअघिका प्रहरी प्रमुखहरुको कार्यकालमा पीसीसी बैठक छिटफुट मात्र बस्ने गरेको थियो । महानिरीक्षक क्षेत्रीले पीसीसीलाई सक्रिय बनाउने बताएका छन् ।

संगठनभित्रै उच्च अधिकृतहरु खुलेर विरोधमा रहेकाले पनि महानिरीक्षकहरुले उक्त वैठक बोलाउने गरेका थिएनन् ।

महानिरीक्षकले एकलौटी निर्णय गर्ने र उनको सचिवालयले हस्ताक्षरका लागि विभागीय प्रमुखहरू कहां लैजाने विगतको परिपाटी तोड्ने संकेत प्रहरी महानिरीक्षक क्षेत्रीले गरेका छन् । उनले यसको अन्त्य गरी सामूहिक निर्णय गर्ने प्रणालीको विकास गर्छु भन्ने अभिव्यक्ति दिनुले प्रहरीभित्र सकरात्मक सन्देश गएको छ । त्यतिमात्र होईन आफ्नै प्रतिस्पर्धी एआईजी हरि बहादुर पालसंग मिलेर काम गर्ने घोषणा गर्नुले पनि थापाले सामूहिक निर्णय गर्ने स्पष्ट संकेत गरेका छन् ।

थापाले बिहिवारको निर्देशनमा प्रहरी संगठनभन्दा आफु चर्चित बन्ने काम छोड्न समेत चेतावनी दिए । उनले आफुले सामूहिक निर्णय लिने तर, गल्ती गर्ने अधिकृतलाई नछोड्ने समेत स्पष्ट पारेका छन् ।

प्रहरीमा लामो समयदेखी साुमूहिक निर्णय नहुंदा संगठनमा असन्तुष्टि थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालामा त झन् प्रहरी संगठन विभाजित मनोभावमा पुग्नुका साथै जनमासमा प्रहरीको साख कमजोर हुन पुगेको गुनासो थियो ।

भर्खरै अवकासमा गएका आईजीपी ठाकुर ज्ञवालीले सामुहिक निर्णयको कोशिस गरेका थिए । तर, उनको कार्यकाल निकै छोटो र कोरोना भाइरसको महामारीसंग जुध्नुपर्ने भएका कारण ज्ञवालीले पनि धेरै काम गर्न नसकेपनि सामुहिक निर्णयको सुरुवात भने गरेका थिए । उनले नीतिगत सवै काममा एआईजीहरुलाई सहभागी गराउनुका साथै नेतृत्वको विकासमा समेत ध्यान दिएका थिए ।

यसअघिका प्रहरी महानिरीक्षक खनालमाथी सामूहिक निर्णयभन्दा व्यक्तिगत आग्रह, पुर्वाग्रह राखेको आरोप छ । उनको विदाई कार्यक्रममा उनि निकट अधिकारीको उपस्थितीले पनि संगठनभित्र चर्को असन्तुष्टि थियो भन्ने कुराको पुष्टि हुन्थ्यो । खनालको बिदाईमा अधिकांश उच्च अधिकृत सहभागी थिएनन् ।

क्षेत्रीले आउंदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङकन ऐन कानूनमा निर्दिष्ट एवम् वरिष्ठता तथा तथ्याङकको आधारमा हुने बताएका छन् ।

source : kathmandupati.com

You can share this post!