ओली-प्रचण्डबीच छलफल जारी राख्ने सहमति, अनौपचारिक कार्यदल गठन

सत्तारूढ नेकपाभित्रको जारी विवादलाई थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलमा सहमतिका लागि अझै प्रयास गर्ने सहमति भएको हो।

दुई अध्यक्षको छलफल सकारात्मक भएको नेकपा महासचिव विष्णु पौडेलले सेतोपाटीलाई बताए।

‘दुई अध्यक्षले छलफल सुरू गर्नुभएको छ। छलफल सकारात्मक भएको छ,’उनले सेतोपाटीसँग भने,’दुई अध्यक्षको छलफल जारी रहन्छ। भोलि फेरि बैठक बस्छ।’

आजको बैठकमा प्रधानमन्त्री ओलीसँगै उनीनिकट उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखेर, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।

त्यस्तै प्रचण्डसँगै उनी निकटका स्थायी समिति सदस्य एवम् उर्जा मन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए।

स्रोतका अनुसार विष्णु पौडेल, ईश्वर पोखरेल, वर्षमान पुन र जनार्दन शर्माको कार्यदल बनाइएको छ। यद्यपी यसलाई औपचारिकता भने दिइएको छैन।

‘आज पनि बैठक सकारात्मक हुन त सकेको छैन। अस्तिकै जस्तो भएको छ,’ स्रोतले भन्यो,’फेरि बस्ने गरी सकिएकाले छलफलको वातावरण बिग्रिसकेको छैन।’

दुई अध्यक्षबीच आज पनि आफ्ना अडानकै विषयलाई लिएर विवाद भएको थियो। दुई अध्यक्षबीच विवाद चलेपछि छलफलमा सहभागी नेता जनार्दन शर्माले सहमतिको वातावारण बनाएर जानका लागि आग्रह गरेको स्रोतले बतायो।

त्यसपछि दुई अध्यक्ष भोलि फेरि बैठक बस्न तयार भएका हुन्।

सेतोपाटी डटकमबाट

You can share this post!