डडेल्धुरा अस्पतालले पायो कोरोना परीक्षणको अनुमति

धनगढी, १३ असार – संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो ।   

सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेका बेला सरकारले डडेल्धुरा अस्पताललाई पनि अनुमति दिएको हो । 

डडेल्धुरा अस्पताललाई ह्युम्यानीटी फाउण्डेसनले कोरोना परीक्षणका लागि पीसीआर मेसिन हस्तान्तरण गरिसकेको छ ।

अस्पतालका अध्यक्ष करुणाकरण ओझाले अहिले मेसिन जडानको काम भइरहेको जानकारी दिए । उनले मेसिन जडान सकिएपछि छिट्टै कोरोना परीक्षणको काम थालिने बताए । सुदूरपश्चिममा एउटा मात्र प्रयोगशाला हुँदा संकलित नमुना परीक्षणमा ढिलाई हुँदै आएको थियो । डडेल्धुरामा प्रयोगशाला सञ्चालन भए सहजता हुने अपेक्षा गरिएको छ । 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो ।

यसअघि उपत्यकासहित सातै प्रदेशका २३ अस्पतालमा पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र देशभरका प्रयोगशालामा नमुना धेरै समय रोकिएपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालालाई परीक्षणको अनुमति दिएको बताइएको छ ।

थपिएका थप प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालका प्रयोगशाला छन् ।

You can share this post!