कोरोना त ठीक भयो, छिमेकीको पो डर छ !

३ असार, पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो ।

पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो ।

संक्रमणको माध्यम नै नखुलेका युवकमा कोरोना देखिएपछि सुरुमा उनी, परिवार, आफन्त पनि खुबै डराए । तर शुक्रबार कोरोनालाई जितेर फूल, अबिरसहित मुस्कुराउँदै उनी घर फर्केका छन् ।

घर फर्किँदै गर्दा उनले अरुलाई पनि सन्देश दिँदै भने, ‘कोरोनासँग डराउनु पर्दैन । आत्मबल बढाए यसले केही गर्न सक्दैन । सजिलै जितिँदो रहेछ । यो सामान्य भाइरस हो ।’

भारतबाट फर्केर मादी गाउँपालिकाको क्वारेन्टिनमा २१ दिन बसेका मादी गाउँपालिकाका एक पुरुष पनि शुक्रबारै कोरोनालाई जितेर घर फर्के ।

क्वारेन्टिनमा बसेर अब त कोरोना लागेको रहेनछ भनेर ढुक्क भइरहेका बेला संक्रमण देखिपछि सुरुमा आत्तिएको उनले बताए । तर, कोरोनालाई जितेर घर फर्किँदै गरेका उनले डाक्टरको राम्रो रेखदेख र आत्मबल बढायो भने केही नहुने अनुभव सुनाए ।घर फर्किन लागेका अधिकांशलाई चिन्ता थियो- अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?

‘कोरोना पोजेटिभ देखियो । तर, आज यी मुस्कुराउँदै घर फर्किँदै छु । मनोबल उच्च राख्नु, कोरोनाले केही गर्न सक्दैन,’ उनले भने, ‘डाक्टरले राम्रो सल्लाह, उत्साह भरे, आफ्नो मनोबल उच्च राखे, केही नहुने रहेछ ।’

पोखरा २७ का अर्का पुरुषको अनुभव पनि त्यस्तै छ । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका बेला भएको परीक्षणमा कोरोना पोजेटिभ देखियो । क्वारेन्टिन, आइसोलेसन गरेर २९ दिन बिताएपछि उनी खुसी साथ घर फर्किएका छन् ।

‘भारतदेखि फर्केर क्वारेन्टिन, आइसोलेसन गरेर बसेको पनि २९ दिन भइसकेछ । आज कोरोनालाई जितेर घर फर्किन पाउँदा मन खुसीले रमाएको छ,’ उनले भने ।

उनीहरुजस्तै शुक्रबारमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । परदेशबाट फर्किएर पनि कोरोना संक्रमणले घर जान नपाएका अधिकांश खुसी साट्न आतुर छन् ।

सुरुमा मनको डरले खाए पनि चिकित्सकको हौसला, परिवारको साथ र आत्मबलले कोरोना जितिने उनीहरुको भनाइ छ ।

छिमेकीको डर छ !

यी ३ पात्रजस्तै कोरोनालाई जितेर घर फर्किनेहरुको अनुभव उस्तै खालको छ– ‘सचेत रहने, मनोबल उच्च राखे कोरोना सजिलै जितिन्छ ।’ शुक्रबार कोरोनालाई जितेर फूल, अबिर लगाएर घर फर्किन लागेका केहीमा भने अर्कै डर र सन्त्रास देखियो ।

केहीले पटक–पटक डाक्टरलाई सोधें, ‘छिमेकीले छि–छि दूरदूर गर्दै हेपे भने के गर्ने ?’ कोरोना जितेर घर फर्किन लागेका कास्कीका एक व्यक्तिले आफू आइसोलेसनमा बस्दा छिमेकीले परिवारलाईसमेत अप्ठेरो पारेको गुनासो गरे ।

‘छिमेकी र समाजले कोरोना संक्रमित भनेर हेला गर्ने, छि–छि गर्ने गरे भने के गर्ने डाक्टर साब ?’ उनले भने, ‘कोरोना त जितेर हाँसीहाँसी घर फर्किन लागेका छौं । तर, छिमेकीको तिरस्कारदेखि डर लागिरहेको छ ।’

घर फर्किन लागेका अधिकांशलाई यस्तै चिन्ता थियो, ‘अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?’

डाक्टरको साथ, हौसलाले कोरोना जितेर घर फर्किँदै गर्दा समाजको डर भने यथावत रहेको मादी गाउँपालिकाका एक पुरुषले बताए ।

‘हामीलाई निको पार्ने र हौसला बढाउने डाक्टर साबहरुलाई धन्यवाद छ,’ उनले भने, ‘अब छिमेकीबाट पो कस्तो ब्यवहार हुने हो ?’

उनीहरुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यसँग घर फर्केर के–के गर्ने भनेर सोधिरहेका थिए । डा. आचार्यले एक हप्ता सुरक्षित भएर घर बस्न आग्रह गर्दै कोरोना जितेर फर्केकालाई छिमेकीले नराम्रो व्यवहार गर्नै नमिल्ने बताए ।

‘एक हप्ता सुरक्षित भएर घरमै बस्नू । त्यसपछि नियमित कामतिर लाग्नू । कोरोना त जितेर फर्किदै हुनुहुन्छ अब तपाईंहरुले धेरै चिन्ता लिने होइन,’ डा. आचार्यले भने, ‘छिमेकी र समाजले दूर–दूर गरे कोरोनामुक्त भएको देखाइदिनू । बरु उनीहरुलाई सचेत भएर बस्न चेतना बढाउनू ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा अरु १६ जना छन् । गण्डकी प्रदेशमा १ सय १ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

अहिलेसम्म ७ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएर पोखरामा उपचाररत २ जनाको ज्यान गएको छ ।

source : onlinekhabar

You can share this post!