पोखराको बजेट ६ अर्ब १९ करोड ७१ लाख

१० असार, पोखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हो ।

पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । कुल बजेटमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँ गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने महानगरको अनुमान छ ।

बजेटमा भौतिक पूर्वाधार विकासलाई बढी महत्व दिइएको छ । कुल बजेटमध्ये ६५ करोड ४४ लाख रुपैयाँ महानगरका सहरी र पहाडी क्षेत्रमा सडक सम्पन्न गर्न बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा निर्माण सुरु गरिएका विभिन्न ७ वटा वडा कार्यालय भवन निर्माण पूरा गर्न ६ करोड ११ लाख विनियोजन गरेको उपप्रमुख गुरुङले बताइन् ।

पोखरा सिद्धार्थचोकदेखि साँघुको मुखसम्मको सडक सौन्दर्यकरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । जस अन्तर्गत महेन्द्रपुलमा लिफ्ट सहितको आकाशेपुल निर्माण सुरु आगामी आर्थिक वर्षमै सुरु गर्ने महानगरले जनाएको छ । उक्त योजनाका लागि महानगरले १ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

महानगरले आगामी वर्षको बजेटमा महामारीका रुपमा फैलिएको कोरोना रोकथाम सम्बोधनमा विशेष जोड दिएको छ । महानगरले भाडामा दिएका व्यापारिक भवन तथा सटरका चैतदेखिको ३ महिनाको भाडा छुट गर्ने जनाएको छ ।

महानगरले कोरोना कारण भएको लकडाउन लकडाउन अवधिको भाडा मिनाहा गर्ने घरधनीलाईसमेत बहाल करमा छुटको व्यवस्था गरेको छ । ‘महानगरका नियमित करदाताहरुलाई कोभिड १९ को कारण व्यवसायमा परेको असर परेको छ । उनीहरुको सम्बोधन हुने गरी निश्चित मापदण्डका आधारमा सहुलियत दिइनेछ,’ उपप्रमुख गुरुङले भनिन् ।

गुरुङले आगामी आर्थिक वर्ष वडा कार्यालय भवन निर्माण, कोरोना संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माणका लागि जिल्ला समन्वय समितिसँगको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि १० करोड रुपंैयाँ विनियोजन गरेको जानकारी दिइन् । आगामी वर्ष महानगरको भवन निर्माण कार्यसमेत अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।

महानगरले आगामी वर्षको बजेटमा पार्किङ व्यवस्थापनमा जोड दिएको छ । जसमा पार्किङसहितको भवन बनाउँदा नक्सा पास दस्तुर छुटदेखि पूर्ण पार्किङयुक्त भवन बनाउँदा कर छुटसम्मको योजना ल्याएको छ । आफ्नो क्षेत्रभित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिनेसमेत महानगरको योजना छ ।

महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षण गर्न उचित बजेट छुटयाइएको उपप्रमुख गु्रुङले जानकारी दिइन् । उनले बजेट वक्तव्यमार्फत भनिन्, ‘आगामी आर्थिक वर्षमा २ वटा भाषाको शव्दकोश र व्याकरण निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।’ उनले पोखरा साहित्य सम्मेलन गर्नसमेत बजेट विनियोजन गरेको बताइन् ।

source : onlinekhabar.com

You can share this post!