असारे चटारो : लक्ष्य भेट्टाउन एक महिनामा २ खर्ब खर्चनुपर्ने

१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना आजबाट प्रारम्भ भएको छ । महत्वकांक्षी बजेट ल्याएर सुरुदेखि नै हरेक सूचकाङ्कमा खराब प्रदर्शन गरेको सरकारलाई चैतयता ‘कोरोना बहाना’ले केही राहत दिएको छ । यो वर्ष सरकारले सुरुको विनियोजन १५ खर्ब ३२ अर्ब ९६ करोडको तुलनामा ३० प्रतिशत कम अर्थात् मात्र १० खर्ब ७३ अर्ब ३५ करोड खर्च गर्ने पछिल्लो संशोधित अनुमान छ ।

यो लक्ष्य भेटाउन समेत असार महिनाभर सरकारले एक खर्ब ९६ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । जस्तै, संकटमा पनि बजेट खर्चलाई असार लाग्नैपर्ने प्रवृत्तिबाट यो वर्ष पनि सरकार माथि उठ्न सकेन ।

यद्यपि चैतयता लकडाउनका कारण राजस्व समेत उठाउन नसकेको सरकारले बजेटले संशोधन गरेको तेस्रो लक्ष्यसमेत नभेटाउने  निश्चितजस्तै छ । यो तथ्य स्वयम् अर्थमन्त्री डा. युवराज खतिवडाले स्वीकार गरिसकेका छन् ।

उनका अनुसार जेठ महिनामा मात्र अनिवार्यतर्फ सरकारको दायित्व करिब ४० अर्ब रहेको छ । तर राजस्वबाट भन्सारबाहेक अन्य कर उठ्न सकेको छैन । यसले सरकारको ब्यालेन्स सिट नै बिग्रिएको छ । पूरै खर्च हुन सक्ने अवस्थामा स्रोतकै समस्या हुने स्थिति बनेको छ ।

दया लाग्दो विकास खर्च

मुलुकको पुँजी निर्माणमा विकास खर्चले मुख्य भूमिका खेल्छ । जसका आधारमा आर्थिक वृद्धि र अन्य सूचकमा समेत सुधार हुन्छ । तर चालु आवमा सबैभन्दा दयनीय अवस्थामा पुँजीगत खर्च रह्यो । ११ औं महिना (जेठ मसान्त) सकिँदासम्म मात्र एक खर्ब २६ अब ५ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । जहाँकी यो वर्ष सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य तोकेको थियो ।

११ औं महिनासम्म आइपुग्दा लक्ष्यको मात्र ३१ प्रतिशत मात्र खर्च सम्भव भएको छ । त्यसमाथि सरकारले खर्चमा कैची लगाउने क्रममा ठूलो रकम पुँजीगततर्फकै काटेको छ ।

बजेटले तोकेको तेस्रो संशोधनअनुसार पुँजीगत खर्च २ खर्ब ३९ अर्ब ९ करोड अर्थातः सुरु विनियोजनको मात्र ५८.६ प्रतिशतसम्म मात्र पुर्‍याउने लक्ष्य रहेको छ। यो लक्ष्य भेटाउन समेत अब सरकारले एक महिनामा एक खर्ब १३ अर्ब ४ करोड रुपैयाँ खर्च गर्नुपर्छ ।

अर्थात्, आजका दिनबाट प्रतिदिन ३ अर्ब ७६ करोड रुपैयाँ विकास खर्च हुँदामात्र बजेटले लिएको तेस्रो संशोधनसम्मको लक्ष्य प्राप्त हुन्छ ।

कोरोना प्रभाव 

चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनासम्म विकास निर्माणमा गति लिन नसकेको परिणाम त्यसपछिको दिनमा देखिएको छ । किनकि चैतपछि लकडाउनका कारण काम नै ठप्प भयो । नेपालमा विकास निर्माणको बढी चटारो हुने समय नै चैत-असार हो ।

ठेक्कापट्टासमेत करिब करिब पूरै लाग्नै नपाई सुरु भएको कोरोनाले यस वर्ष समग्र खर्चमा प्रभाव पारेको अर्थ मन्त्रालयको भनाइ छ । त्यसमाथि बजेटको  प्रारम्भिक विनियोजनका लक्ष्यहरू अन्तिममा आएर परिवर्तन गर्नुपरेको छ ।

स्वास्थ्य र सुरक्षामा बढी रकम विनियोजन, थप निकासा तथा रकमान्तर गर्नुपर्दा पनि विकास बजेटमाथि चाप परेको हो । यद्यपि कतिपय आयोजनामा असारमै भए पनि काम भइरहेको छ ।

यस्तो छ ११ महिनाको बजेट खर्च

 खर्चविनियोजित लक्ष्य अर्धवार्षिक संशोधित लक्ष्य बजेटले गरेको संशोधन११ महिनाको उपलब्धि     विनियोजन तुलनामा खर्च प्रतिशत  
चालु९ खर्ब ५७ अर्ब १० करोड९ खर्ब ४ अर्ब ४६ करोड७ खर्ब १ अर्ब ५५ करोड६ खर्ब ७० अर्ब ५१ करोड७०.०६
पुँजीगत४ खर्ब ८ अर्ब३ खर्ब २६ अर्ब ८१ करोड२ खर्ब ३९ अर्ब ९ करोड१ खर्ब २६ अर्ब ५ करोड३०.९०
वित्तीय व्यवस्था१ खर्ब ६७ अर्ब ८५ करोड१ खर्ब ५४ अर्ब ६९ करोड१ खर्ब ३२ अर्ब २६ करोड८६ अर्ब २० करोड५१.३६
कुल१५ खर्ब ३२ अर्ब ९६ करोड१३ खर्ब १५ अर्ब १६ करोड१० खर्ब ७३ अर्ब ३५ करोड७ खर्ब ६० अर्ब ४७ करोड६०.०८

स्रोतः महालेखा नियन्त्रक कार्यालय

राजस्व संकलन नराम्ररी प्रभावित

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष सरकारको खर्चमात्र नभई राजस्व संकलनमा समेत झन ठूलो खाडल छ । सरकारले यस वर्ष कुल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो ।

चालु आवको ११ महिना बितिसक्दा लक्ष्यको ५८.२५  प्रतिशत राजस्व उठ्न सकेको छ । यसअवधिमा ६ खर्ब ४७ अर्ब ७९ रुपैयाँ मात्र राजस्व संकलन भएको हो ।

Source: onlinekhabar.com

You can share this post!