आइसोलेसनमा रहेका संक्रमित डोरीसम्म आएर बटुवासँग गफिन्छन्, यसले संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ ।
बाँके — विद्यालयको मूल गेटमा ताल्चा लगाइएको छ । चौरमा प्रहरी जवान तैनाथ छन् । विद्यालय वरिपरिको पर्खाल आधा मात्र बचेको छ । खुला ठाउँबाट संक्रमित भाग्ने चिन्ताले डोरी बाँधिएको छ । आइसोलेसनमा रहेका संक्रमित डोरीसम्म आएर बटुवासँग गफिन्छन् । यो जानकी गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालय आइसोलेसन सेन्टरको दृश्य हो ।
यहाँ अहिले ४१ जना संक्रमित छन् । विद्यालय मूल सडकसँगै जोडिएको छ । गर्मी भएकाले संक्रमित विद्यालयको पर्खालछेउमा छहारी खोज्दै सडकको गतिविधि नियालिरहेका हुन्छन् । मूल सडक र पर्खालबीच मुस्किलले एक मिटरको दूरी छ । मास्क नलगाएका स्थानीय बासिन्दा साइकल वा पैदल यही पर्खालछेउ हुँदै गन्तव्यतर्फ गइरहेका देखिन्छन् । संक्रमितहरूलाई व्यवस्थित रूपमा नराखिँदा र स्थानीयमा मास्क नलगाई आइसोलेसन सेन्टरको वरपर जानु हुँदैन भन्ने हेक्कासमेत नहुँदा संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ ।
यहाँबाट सोमबार राति डोरी नाघेर एक संक्रमित भागेका थिए । मध्यरात गर्मी र लामखुट्टेले अत्याएर चौरमा बसिरहेका बेला शौचालय जान्छु भन्दै निस्किएपछि नफर्किएको उनका साथीले बताए । ‘गर्मीले निद्रा परेन, खुला चौरमा बसेका थियौं,’ ती व्यक्तिले भने, ‘ट्वाइलेट जान्छु भनेर गएको मान्छे आउँदै आएन ।’ यहाँ रहेका संक्रमितको विश्वासका भरमा सेन्टर सञ्चालन भइरहेको छ । ड्युटीमा खटिएका प्रहरीले संक्रमितको धैर्यले आइसोलेसन टिकेको बताए । ‘स्कुलपछाडि खुला छ, कतिबेला भाग्छन् पत्तै हुँदैन,’ यहाँ तैनाथ प्रहरी जवान बखत खड्काले भने । जानकी–२ का वडाध्यक्ष मोहमदराज राईले आइसोलेसनबाट भागेका संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।
स्थानीय सरकारले आइसोलेसनको व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय जोखिममा परेका हुन् । उक्त विद्यालय जानकी–१ र २ वडाको बीचमा रहेको छ । यहाँबाट आधा किलोमिटर दूरीमा जोगा, भैयापुर बस्ती रहेका छन् । ‘संक्रमितलाई त अस्पतालमा राख्नुपर्ने हो,’ भैयापुरका सटु मुराउले भने, ‘हामी डरले रातभर सुत्न सकेका छैनौं ।’
विद्यालयका दुईवटा साना भवन छन् । एउटा भवनमा २२ र अर्काेमा १९ जना बसिरहेका छन् । सबैलाई एक/एक म्याटरेस दिइएको छ । केहीले घरबाटै बिस्तरा मगाएका छन् । ‘झुल पनि छैन, मच्छडले टोकेर निदाउनै सकिन्न,’ आइसोलेसनमा रहेका एक युवाले भने, ‘भुइँमा सुत्दा सर्पले टोक्ला भन्ने चिन्ता छ ।’ उनीहरु डोरीछेउमा उभिएर घरबाट आएका आफन्तसित कुरा गर्छन् । बाटो हुँदै आउने आफन्ती, छिमेकी र गाउँलेलाई हात हल्लाउँदै गफिन थाल्छन् । यहाँको आइसोलेसन क्वारेन्टाइनभन्दा पनि अव्यवस्थित रहेको स्थानीयले गुनासो गरे ।
जानकी–१ का एक व्यक्ति भारतको अहमदाबादमा होटलमा काम गर्थे । लकडाउनपछि कारोबार बन्द भयो । परिवारले घर आउन ताकेता गर्न थाले । यहाँ आएको २० दिन भइसक्दा पनि उनले आफू कोरोना संक्रमित हो/होइन भन्ने जानकारी नपाएको बताए । ‘खै किन यहाँ राखियो, थाहा छैन,’ उनले भने, ‘यहाँ बसेर उल्टै बिरामी परिने डर भो ।’ नाकासम्म आएपछि उनले गाउँकै क्वारेन्टाइनमा २० दिन बिताए । त्यसपछि उनलाई आइसोलेसनमा ल्याइयो ।
स्वास्थ्यकर्मीले संक्रमितलाई तागतिलो खानेकुरा र तातो पानी आवश्यक रहेको बताएका छन् । सबै खानेकुरा घरबाटै ल्याउनुपर्छ । यहाँ बसेका व्यक्ति कामको खोजीमा भारत गए पनि रित्तै फर्किएका धेरै छन् । ‘पेटभरि खान छैन, पोषिलो खुराक कसले दिन्छ ?,’ एक संक्रमितले भने, ‘न राम्ररी सुत्न पाइएको छ, न पोषिलो खाना । यस्तो आइसोलेसनमा बस्नुभन्दा बरु घरै पठाइदिए हुन्थ्यो ।’ जानकी–१, छोटीपुरका एक संक्रमितले आइसोलेसनको व्यवहार अपहेलित तुल्याउने खालको भएको बताए । बोरामा खाना प्याक गरेर भुइँमा फालिदिने गरेको उनले सुनाए । ‘भात मात्रै धेरै हुन्छ, तरकारी र दाल थप्न पाइँदैन,’ उनले भने, ‘किन यस्तो व्यवहार गरिरहेका छन्, बुझ्नै सकिएन ।’
संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने र आइसोलेसन सेन्टरमा भेन्टिलेटर, चिकित्सक, एम्बुलेन्स र अक्सिजनजस्ता अत्यावश्यकीय सुविधा हुनुपर्ने मापदण्डमा उल्लेख छ । जिल्लाका अधिकांश स्थानीय विद्यालयमा बनाइएको सेन्टरमा यस्तो प्रबन्ध देखिँदैन । खाना र खाजाको प्रबन्ध स्थानीय तहले मिलाएका छन् । आइसोलेसन सेन्टरको सुरक्षामा तीन जना सुरक्षाकर्मी खटाइएको छ । रातिमा स्वास्थ्यकर्मी नबस्ने त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । प्रदेश सरकारले स्थानीय तहमै आइसोलेसन सेन्टर चलाउन निर्देशन दिएपछि हतारमा काम देखाउने होडबाजी चलेको छ ।
जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले स्रोत र साधनले भ्याएसम्म आइसोलेसन सेन्टरमा सुविधा पुर्याएको दाबी गरे । ‘सरकाले खोल्न भन्यो, जे छ त्यसैमा व्यवस्थापन गर्नुपरेको छ,’ उनले भने, ‘भौतिक संरचनाकै अभावमा सुविधा पुर्याउन सकेका छैनौं ।’ समुदाय स्तरमा आइसोलेसन बनाउन निर्देशन दिए पनि कस्तो मापदण्ड अपनाउने भनेर गाइडलाइन नहुँदा यस्ता अव्यवस्थित आइसोलेसन सेन्टर निर्माण गरिएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बताए ।
source : ekantipur.com