कोरोना भाइरस संक्रमणमा भारत इटालीभन्दा अगाडि, दिनमा झन्डै दश हजार संक्रमित

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा भारतले इटालीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरूको सूचीमा छैटौँ अग्रपंक्तिमा रहेको इटालीलाई उछिनेर अहिले भारत छैटौँ अग्रपंक्तिमा पुगेको हो । 

भारतमा अहिले कुल संक्रमितको संख्या दुई लाख ३६ हजार ६ सय ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । इटालीमा भने अहिलेसम्म दुई लाख ३४ हजार पाँच सय ३१ जना कोरोना भाइरस संक्रमित रहेका छन्  ।

कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या भने भारतमा भन्दा इटालीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६ सय ४२ को मृत्यु भएको छ भने इटालीमा ३३ हजार सात सय ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

भारतका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा नाै हजार आठ सय ८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा भारतमा दुई सय ९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

भारतमा संक्रमित भएकामध्ये एक लाख १४ हजार ७३ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभरि संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा ८० हजार दुई सय २९ जना भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ४२ हजार दुई सय २४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । 

दोस्रो स्थानमा रहेको तमिलनाडु राज्यमा कुल २८ हजार ६ सय ९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

लकडाउन असफल : राहुल गान्धी
यसैबीच भारतीय कंग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको लकडाउनको नीतिले कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप लगाए । 

पछिल्ला दिनहरूमा भारतमा हरेक दिन नाैदेखि १० हजारसम्म संक्रमित थपिने गरेकाले सरकार यो महामारी रोक्न असफल भएको उनले बताएका हुन् । 

लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरू विकल्प रोज्नुपर्ने पनि ट्विटमार्फत उनले सुझाब दिएका छन् । 

source : nayapatrikadaily

You can share this post!