मान्छे कोरोनाले मर्न तयार छ तर भोकै मर्न तयार हुन्नः विष्णु पौडेल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव एवम् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बजेटले आजका चुनौती र भोलिका सम्भावना दुवैलाई आत्मसात गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै पूर्वअर्थमन्त्रीसमेत पौडेलले नागरिकको जीवनरक्षालाई यो बजेटले महत्वपूर्ण मुद्दा बनाएको बताएका छन् । पौडेलले बजेट गतवर्षको तुलनामा चार प्रतिशतले कम भए पनि यो यथार्थको जगमा उभिएर प्रस्तुत भएको बताएका हुन् ।

‘बजेटले आजको यथार्थतालाई स्वीकार गरेको छ। यथार्थको जगमा उभिएर बजेट उभिएको छ । जीडीपीको तुलनामा बजेटले ३३ प्रतिशतको आधारलाई प्रतिनिधित्व गर्छ । त्यसको आधारमा बजेट गत वर्षको तुलनामा पाँच प्रतिशतले कम छ’, पौडेलले भने, ‘राजश्वको दृष्टिकोणले अहिलेको साइज ९ दशमलव ३ प्रतिशतले कम छ । यस हिसाबले हेर्दा धरातलीय यथार्थलाई विश्लेषण गर्दै यो बजेट आएको छ ।’

पौडेलले बजेटले आन्तरिक राजश्वलाई प्रमुख स्रोत मानेको प्रष्ट पारे । ‘हाम्रो स्रोत के हो ? वैदेशिक सहयोग र आन्तरिक ऋण विभिन्न विधामा आधारित हुन्छ । बजेटले आन्तरिक राजश्वले प्रमुख स्रोत ठानेको छ’, पौडेलले भने ।

बजेटले निश्चित लक्ष्य चुनौती र सम्भावनालाई आत्मासाथ गरेको पौडेलको भनाइ छ । सँगै बजेटले नागरिकको जीवन रक्षालाई महत्वपूर्ण मुद्दा बनाएको उनले प्रष्ट पारे ।

‘बजेटले आजका चुनौती र भोलिका सम्भावना दुवै चिजका बीचमा एउटा अन्योन्याश्रित अन्तर सम्बन्धलाई यसले आत्मसाथ गरेको छ’, उनले भने, ‘नागरिकको जीवनरक्षालाई यसले महत्वपूर्ण मुद्दा बनाएको छ । आर्थिक पुर्नउत्थान विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, स्वाधिन समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्र यो बजेटका लक्ष्य हुन् ।’

पौडेलले कोभिड–१९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । उनले अबको कार्यभार महामारीसँग जुद्दै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको प्रष्ट पारेका हुन् ।

‘मान्छे बरु कोरोनाले मर्न तयार छ तर भोकै मर्न कोही तयार हुन्न । कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको छ’, पौडेलले भने, ‘आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं ।’

source : kathmandupati.com

You can share this post!