‘मेरो सरकार’ र ‘यस सरकार’को नीति कार्यक्रम : केही उस्तै, केही दुरुस्तै !

३ जेठ, काठमाडौं । झण्डै तीन घण्टा लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिन् । देश र सिंगै विश्व असामान्य परिस्थितिबाट गुज्रिएका बेला सरकारको नीति–कार्यक्रम कस्तो आउला भन्ने धेरैको चासो थियो ।

शाब्दिक हिसाबले भद्दा र लम्बेतान नीति तथा कार्यक्रम अन्तरवस्तुमा कमजोर देखियो । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख भए पनि त्यसका लागि नविन कार्ययोजना भने यसमा आएन । साथै, आर्थिक पुनरुत्थान सम्वन्धमा पनि सरकारले गतिलो प्रस्ताव अघि सार्न सकेन ।

नीति तथा कार्यक्रमका अवयवहरुबारे समीक्षा हुने नै छन् । यस आलेखमा चाहिँ गत वर्ष र यसपालिको नीति–कार्यक्रमलाई दाँजेर हेर्न प्रयास गरिएको छ । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याउँदा सामान्य परिस्थिति थियो । यसपालि गम्भीर संकटको अवस्था छ । यो संकटबाट पार पाउनका लागि सरकारसँग कुनै जादुको छडी त छैन । तर, ‘आउट अफ दी बक्स’ केही सोच्नुपर्ने थियो । त्यो भएन ।

प्रस्तुति र भाषा शैलीको हिसाबले गत वर्ष र यसपालि खासै फरक छैन । विषयवस्तुको कुरा गर्दा निश्चय पनि यसपालि स्वास्थ्य क्षेत्रको बढी चर्चा छ । देशको स्वास्थ्य प्रणालीमा संरचनागत परिवर्तनको कुरा गरिएको छ । कोरोनाविरुद्धको लडाईंमा सरकारले गरेका प्रयासहरुले सार्थक परिणाम दिइरहेको निस्कर्ष निकाल्दै यही रणनीतिलाई निरन्तरता दिइने अभिप्राय प्रकट भएको छ ।

गत वर्ष राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा निकै विवाद उत्पन्न भएको थियो । यसपालि उनले त्यसलाई सच्याएर ‘यस सरकार वा यो सरकार’ भनेकी छन् ।

उपलब्धिको चर्चा

गत वर्षको नीति तथा कार्यक्रममा कानूनहरु बनेर संविधान पूर्ण कार्यान्वयनमा आएको, संक्रमणकालको अन्त्य भएर राजनीतिक स्थायित्व कायम भएको, बिखण्डनवादी अभियान समाप्त भएको, चीनसँग व्यापार तथा पारवहन प्रोटोकल लगायत ६ वटा महत्त्वपूर्ण सम्झौता भएको, ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भएको लगायत कुराहरुलाई उपलब्धीको रुपमा बयान गरेको थियो ।

यस वर्षको नीति तथा कार्यक्रममा सरकार गठनपछि मुलुकमा स्थिरता र स्थायित्व कायम भएको तथा संविधान कार्यान्वयनमा आएको कुरालाई दोहोर्‍याइएको छ । अन्य उपलब्धीका रुपमा संघ, प्रदेश र स्थानीय तह क्रियाशील बनेको, चीनका राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको, नेपालमा व्यवसय गर्ने वातावरणमा सुधार आएको, कोभिड–१९ नियन्त्रणमा सरकार अहिलेसम्म सफल भएको, बन्दाबन्दीको अवस्थामा पनि अत्यावश्यक वस्तुहरुको आपूर्ति सुनश्चित गरिएकोलगायत उल्लेख छन् ।

प्राथमिकता

गत वर्ष सरकारले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दिगो विकास र पर्यावरणीय संरक्षण, शान्ति, सद्‍भाव, सुव्यवस्था र विधिको शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको थियो ।

यस वर्ष नेपाललाई कोभिड १९ महामारीमुक्त बनाउने अभियानलाई सरकारले पहिलो प्राथमिकताका रुपमा प्रस्तुत गरेको छ । महामारीले राष्ट्रिय जीवनका सबै क्षेत्रमा परेको प्रभावको अध्ययन भइरहेको र यही अध्ययनका आधारमा योजना अघि बढाउने नीति–कार्यक्रममा उल्लेख छ ।

लक्ष्य

गत वर्ष आगामी आर्थिक वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने दावी गरिएको थियो । लगातार तीन वर्षदेखिको आर्थिक वृद्धिदरको उत्साहजनक प्रवृत्तिलाई थप उन्‍नत बनाउँदै आगामी चार वर्षभित्र दोहोरो अङ्‍कको आर्थिक वृद्धिदर हासिल गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो ।

यस वर्ष महामारीका कारण विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरुको आयमा कमी आउने, बेरोजगारी बढ्ने आँकलन गरिएको छ । महामारीसँग जुध्नु परिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अभि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालमा अब ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा सरकारले फेरि दोहोर्‍याएको छ ।

केही उस्तै केही दुरुस्तै

गत वर्षको नीति तथा कार्यक्रममा लिइएका अधिकांस लक्ष्य एवं योजना पूरा भएका छैनन् । यसमा सरकारले कोरोना र लकडाउनलाई नै कारणका रुपमा देखाउने छ ।

भैरहवा, पोखरा र निजगढका अन्तर्राष्ट्रिय विमानस्थलहरुको विषयमा सरकारले गत वर्ष र यसपाली राखेको लक्ष्य एउटै छन् । यसैगरी, मेलम्ची खानेपानी, तामाकोशी जलविद्युत लगायत थुप्रै आयोजनाहरुको निर्माण एक वर्ष धकेलिएको छ । सरकारले महत्व दिँदै आएको रेलमार्ग र जलपारवहनको काम पनि अघि बढेको छैन ।

केही मुख्य आयोजनाहरुका सन्दर्भमा गत वर्ष र यस वर्षको नीति तथा कार्यक्रममा के उल्लेख छ ? तुलना गरौं:

गत वर्ष : नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको छ । पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्‍चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ । जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्‍चालनमा ल्याइनेछ ।

यस वर्षः नेपालको आफ्नो ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जाने गरी तयारी गरिएको छ । आगामी आर्थिक वर्षदेखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानूनी व्यवस्था गरिनेछ ।

गत वर्षः आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिनेछ ।

यस वर्ष: आगामी आर्थिक वर्ष साक्षर नेपाल घोषणा गरिनेछ । विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा हुने सुनिश्चित गरिनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ । स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ । आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ, सबै स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

यस वर्षः आगमी तीन वर्षभित्रमा सबै नागरिकमा पुग्नेगरी स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिनेछ

गत वर्षः प्रधानमन्‍त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कृषि क्षेत्रका कार्यक्रमहरूको प्रभावकारिता विश्‍लेषण गरी पुनरावलोकन गरिनेछ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानबाट वास्तविक कृषकहरूले लाभ लिनसक्‍ने बनाउन हालको अनुदान प्रणालीमा व्यापक सुधार गरिनेछ ।

यस वर्ष : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गरी कृषि क्षेत्रको रुपान्तरणको प्रमुख कार्यक्रमका रुपमा नेपालभर विस्तार गरिनेछ ।

गत वर्षः चीनका समुद्री र सुक्खा बन्दरगाह प्रयोग गरी विश्‍व बजारमा व्यापार विस्तार गर्न थप ढोका खुलेको छ ।

यस वर्षः चीनका चारवटा सामुद्रिक र तीनवटा स्थल बन्दरगाह नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि उपलब्ध भएका छन् । आगामी वर्ष बन्दरगाह सञ्चालन र व्यवस्थापन सम्वन्धी आवश्यक कानूनी व्यवस्था गरिनेछ ।

गत वर्षः निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्‍न गरी सन् २०१९ भित्रै सञ्‍चालनमा ल्याइनेछ ।

यस वर्षः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ ।

गत वर्षः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्‍चालन गर्ने गरी निर्माण कार्यमा तीब्रता दिइनेछ ।

यस वर्षः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनको तयारी गरिनेछ ।

गत वर्षः निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र प्रारम्भ गरिनेछ ।

यस वर्षः निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।

गत वर्षः तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा विमानस्थल निर्माण गरिनेछ ।

यस वर्ष : आगामी आर्थिक वर्ष थप दुईवटा आन्तरिक विमानस्थलको निर्माण गरिनेछ । तेह्रथुमको चुहान डाँडा र काभ्रेमा उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण अघि बढाइनेछ ।

गत वर्षः आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्‍ख्याको पहुँचमा पुर्‍याइनेछ । निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्‍न गरी तराईका जिल्लामा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध गराइनेछ । आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा सबै घरमा खानेपानी सुविधा पुर्‍याइनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्‍न गरिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ ।

गत वर्षः यही आर्थिक वर्षको अन्त्यसम्ममा थप ३ सय पुलहरूको निर्माण कार्य सम्पन्‍न हुनेछ । चार वर्षभित्र सम्पूर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा ३ सय सडक पुलको निर्माण सम्पन्न गरिनेछ । सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रंता दिइनेछ ।

गत वर्षः काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्‍ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षमा रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक कार्य सुरु गरिनेछ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको पूर्व तयारीका कार्य सम्पन्न गरी काँकडभिट्टा इनरुवा खण्डको निर्माण प्रारम्भ गरिनेछ ।

गत वर्षः जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्‍चालन गरिनेछ । विजलपुरा–बर्दिबास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्‍न गरिनेछ ।

यस वर्षः यसै आर्थिक वर्षभित्र भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने गरी काम भइरहेको छ ।

गत वर्षः काठमाडौं उपत्यकामा आगामी तीन वर्षभित्र सम्पन्‍न हुने गरी सङ्‍घीय संसद भवन, राजकीय अतिथि गृह, मन्त्री निवास, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय एवं निवासहरूको निर्माण कार्य सुरु गरिनेछ ।

यस वर्ष : संघीय संसद भवनको निर्माण आगामी तीन वर्षमा सम्पन्न हुनेछ ।

गत वर्षः भूकम्पबाट क्षतिग्रस्त बाँकी सार्वजनिक संरचनाहरूको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्‍न गरिनेछ ।

गत वर्षः प्रधानमन्‍त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिनेछ ।

यस वर्ष : महामारीका कारण देशभित्र रोजगारीमा संकुचन आउने तथा विदेशबाट पनि नेपालीहरु फर्किन सक्ने भएका कारण बेरोजगारी समस्याको जोखिम छ । उनीहरुलाई कृषि, उद्योग, मझौला व्यवसाय तथा सेवाको क्षेत्रमा रोजगारी दिलाइने छ ।

गत वर्षः पुरातात्विक सम्पदाहरूको संरक्षण हुने गरी पुनर्निर्माणको अधिकांश कार्य आगामी दुई वर्षभित्र पूरा गरिनेछ । भूकम्पबाट क्षतिग्रस्त बाँकी सार्वजनिक संरचनाहरूको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्‍न गरिनेछ ।

यस वर्ष : पुनर्निमाणको बाँकी सबै कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

गत वर्षः आगामी आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्‍न गरी ४ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

यस वर्षः आगामी आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिनेछ ।

गत वर्षः बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइनेछ ।

यस वर्षः बाह्य स्रोतसमेत जुटाई बुढीगण्डकी, पश्चिम सेती जलविद्युत आयोजनाहरु अघि बढाइनेछ ।

sourse onlinekhabar.com

You can share this post!