कानुनी राज्यका जन प्रतिनिधि

प्रतिक चन्द

-क्वारेनटाइन डायरी

तिमी भावनामा बहकिएर
ट्यार ट्यार नगर
हामी कानुनी राज्यका
जन प्रतिनिधि हौ
हामीलाई कानुन प्यारो छ
हामीलाई न्याय प्यारो छ
हामी तब सम्म बोल्दैनौ
जब सम्म कानुन बोल्दैन
हामी तब सम्म चल्दैनौ
जब सम्म कानुनले आदेश दिदैन

कानुनको कुन चै धारामा लेखेको छ
मजदुर भोकै मर्छन भनेर
कानुनको कुन चै धारामा लेखेको छ
मजदुरको घरमा चुलो बल्दैन भनेर
कानुनको कुन चै धारामा लेखेको छ
बाटो हिड्ने बटुवालाई घर सम्म पुर्याउ भनेर
कानुनको कुन चै धारामा लेखेको छ
गरीबको झुपडीमा खुशी फर्काउ भनेर
हामी कानुनी राज्यका बादशाह हौ
जब सम्म कानुन बोल्दैन
तब सम्म घोडा चल्दैन

हामी नेताले छानेका मान्छे
हामी जनताले मानेका मान्छे
हामी नेताकालागी मर्ने मान्छे
हामी जनताकोलागी गर्ने मान्छे
हामी जे गर्छौ जनताको लागी गर्छौ
भ्रस्टाचार जनताको लागी गर्छौ
जाल झेल जनताको लागी गर्छौ
कमिसन जनताको लागी खान्छौ
सत्तामा जनताको लागी जान्छौ
चुनावमा जनतालाई नै मान्छौ
आफ्नो पेट भर्न जनताको पेटमा हान्छौ
हामी त जनताको लागी बनाएको
कानुनी राज्यका मान्छे
जब सम्म कानुनले
भ्रस्टाचारीलाई नछाड भनिरहन्छ
तब सम्म हामी भ्रस्टाचारलाई समाइरहन्छौ

हामी जनताका मान्छे
कानुन हाम्रो लागी होइन
जनताका लागी बनाएका छौ
कानुनले हामीलाई देख्दैन
केवल जनतालाई देख्छ
कानुनले हाम्रो लागी नियम लेख्दैन
केवल जनताको लागी लेख्छ
हामी बेला मौकामा रमाउछौ
जनतालाई चुला चौकामा समाउछौ
हामी त कानुनी राज्यका सिपाही
तिमी बेतुकको हल्ला नगर
जब सम्म कानुनले हिड भन्दैन
तब सम्म महलबाट हाम्रो पाइला चल्दैन !!

You can share this post!

Previous article